१० किमि गुरिल्‍ला ट्रेल रेसमा आकाश र प्रिया प्रथम

अल्‍ट्रा रेसको स्‍टार्टिङ पोइन्‍ट भूमे-६ महत गाउँ थियो भने फिनिशिङ पोइन्‍ट छिमेककै २ नम्‍बर वडाको खाबाङबगर रहेको थियो।

१० किमि गुरिल्‍ला ट्रेल रेसमा आकाश र प्रिया प्रथम शनिबार आयोजित अल्‍ट्रा ट्रेल रेसमा सहभागी प्रतियोगी। तस्बिर स्रोत : पृथ्‍वी पुन 'बालकुराम'

रुकुमपूर्व, असार २

भूमे गाउँपालिकाद्वारा शनिवार आयोजित गुरिल्‍ला अल्ट्रा ट्रेल रेसमा पुरुषतर्फ भूमे-२ जंगाधाराका आकाश रोका र महिलातर्फ भूमे-२ कै खाबाङकी प्रिया पुन प्रथम भएका छन्। १० किलोमिटर दूरीको गुरिल्ला अल्ट्रा ट्रेल रेसमा आकाशले १ घण्टा १२ मिनेटमा पार गरे भने प्रियाले १ घण्टा ४३ मिनेट लगाइन्‌। 

१ घण्टा १४ मिनेटमा निर्धारित दूरी पार गर्दै भूमे-६ का रामकुमार बुढा दोस्रो भए भने १ घण्टा  १४  मिनेट ३० सेकेन्डमा भूमे-१ लुकुमका हिराधन घर्तीले तेस्रो स्‍थान प्राप्‍त गर्न सफल भए। यस्‍तै सो निर्धारित दूरी १ घण्टा १५ मिनेटमा पार गरेर पुथाउत्तरगंगा गाउँपालिका -१४ राङ्‌सीका कुमार पुनले सान्त्वना पाए। 

यस्तै महिलातर्फ १ घण्टा ४७ मिनेटमा निर्धारित दूरी पार गर्दै भूमे-२ खाबाङकी सम्झना बुढा दोस्रो भइन् भने १ घण्टा ४९ मिनेटमा भूमे-६ महतकी सुप्रिया बुढा तेस्रो भइन्‌। यस्‍तै २ घण्टा ९ मिनेटमा निर्धारित दूरी पार गर्दै भूमे-६ महतकी सुनथामी बुढाले सान्त्वना जितिन्‌। 

महिला र पुरुष दुवैतर्फका प्रतिस्‍पर्धीमध्‍ये प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार ५ सय, तेस्रोलाई ५ हजार र सान्त्वनालाई २ हजार ५ सय रुपियाँ सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने पाँचौंदेखि दशौं स्थान हासिल गर्ने प्रतियोगीलाई प्रतिव्यक्ति बराबर एक-एक हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने छ। 

अल्‍ट्रा रेसको स्‍टार्टिङ पोइन्‍ट भूमे-६ महत गाउँ थियो भने फिनिशिङ पोइन्‍ट छिमेककै २ नम्‍बर वडाको खाबाङबगर रहेको थियो। खाबाङबगर भूमे गाउँपालिकाको पालिका केन्‍द्र पनि हो। अल्‍ट्रा रेसका प्रतियोगीलाई भूमे गाउँपालिकाकै सेबाङपो, सानोलेक, कोइचा, तिला, मारिङ, खाबाङ गाउँ हुँदै दौडाइएको थियो।

१० किलोमिटर अल्‍ट्रा रेसमा पुरुषतर्फ २५ र महिलातर्फ १२ जना गरी जम्‍मा ३७ जना प्रतिस्पर्धी थिए। प्रतियोगितामा रुकुमपूर्व र रोल्पाका खेलाडीको सहभागिता थियो। यो भूमे गाउँपालिकाद्वारा आयोजित पाँचौं संस्‍करणको प्रतियोगिता हो।