फ्लोरेन्स नाइटिङ्गेललाई चिठी
युद्धमा घाइते सिपाहीहरुको सेवा गर्यौ। तिमीले खुवाउने औषधीभन्दा ती तिम्रा निर्दोष, मन्द र मौन मुस्कान अनि त्यो तिम्रो शान्त र उज्यालो मुहारले सयौं घाइते सिपाहीहरु निको भएको महसुस गर्थे।
प्रिय फ्लोरेन्स नाइटिङ्गेल,
'लेडी विथ दि ल्याम्प' अर्थात् 'बत्तीसँगैकी नारी' लाई सम्झेको छु। आधुनिक नर्सिङका सिद्धान्तकार प्रिय फ्लोरेन्सलाई धेरै सम्झेको छु।
म बच्चै हुँदा तिमीलाई पढेको थिएँ। तिमीले समाएका सुम्सुम्याएका घाइते बिरामीहरु आफूलाई सन्चो भएको महसुस गर्थे रे। तिमीलाई देख्दा मात्रै पनि गम्भीर बिरामीहरु पनि मुस्कुराउँथे रे। त्यो बालापनको मस्तिष्कले साँच्चिकै तिमीलाई देवी नै मानेको थिएँ। हुन पनि एउटा असल स्वास्थ्यकर्मी रोगी मान्छेहरुको लागि भगवान त हुन् नै।
तर यहाँ तिमी जस्ती देवीको अभाव छ। अझ नेपालमा भनौं त्यो। यहाँ त आफैं धामी आफैं बोक्सी भएका छन्। तिमीले प्रतिपादन गरेको चिकित्सा सेवाका सिद्धान्तहरू यहाँ कसैले पालना गरेजस्तो लाग्दैन। यहाँ त बिरामीलाई हातपात गरिन्छ। पैसा नहुने बिरामीहरुलाई भिखारी भनेर अपमानित गरिन्छ। त्यतिले नपुगेर माइतीघर मण्डलामा पुगी 'प्ले कार्ड' बोकेरै बिरामी र बिरामीको आफन्तको विरुद्धमा ध्वनि प्रदूषणै गरी नारा लगाइन्छ।
प्रिय नाइटिङ्गेल, तिमी त १९१० मै यो धर्तीबाट अन्तिम सास लियौ। यदि तिमी अझै जीवित रहेकी भए यस्ता दृश्यहरुले तिमीलाई कति पोल्थे होला।
युद्धमा घाइते सिपाहीहरुको सेवा गर्यौ। तिमीले खुवाउने औषधीभन्दा ती तिम्रा निर्दोष, मन्द र मौन मुस्कान अनि त्यो तिम्रो शान्त र उज्यालो मुहारले सयौं घाइते सिपाहीहरु निको भएको आभास गर्थे। तर हाम्रो देशका अधिकांश सरकारी सेवाका नर्सहरुको अनुहार देख्यो कि मलाई औंशीको कालरात्रीको सम्झना आउँछ। हो, उनीहरूको निधार मलाई त्यस्तै लाग्छ। वचनले पनि रोगीलाई हौसला मिल्छ। तर यहाँ त वचनबाट गोली चल्छ; मानौं।
हाम्रो देशका नर्सहरुको जिकीर छ- दिन रात नभनी, परिवार नभनी रात दिन खटिरहेका छौं।
म त्यो मान्दिन। तथ्यले पनि त्यो मान्दैन। तिमीले युद्ध मैदान, सैनिक क्याम्प र धर्मशालाहरुमा केवल नि:शुल्क मात्र नभई सिर्फ सेवाका लागि बिरामीहरुको उपचारमा खटियौ। त्यो वापत् कुनै तलब थापेनौ, कुनै शुल्क लिएनौ। तैपनि, रातलाई रात भनेनौ। दिनलाई दिन भनेनौ। भोकलाई भोक भनेनौ। परिवार सम्झेनौ। तर यहाँ सेवा सुविधा लिएर राम्रोसँग ड्युटी निभाउन नसक्ने तिम्रा अनुयायी भनिएका धूर्त नर्सहरूलाई घृणा गर्न मन लाग्छ।
अस्ति भर्खरै चितवनको भरतपुर अस्पतालमा एकजना क्यान्सरको बिरामीलाई भिखारी समेत भन्न भ्याए। ती 'भिखारी' भनिएका बिरामीको सेवामा खटिरहेकी गिभिना मगरलाई समेत दुरव्यवहार गरे। तिम्रो नेपाली अनुयायीहरुको दादागिरी सहिनसक्नु छ प्रिय नाइटिङ्गेल ! सिंगो नर्सिङ पेशा नै बदनाम हुने हो कि भन्ने भयले मलाई सताइरहेको छ। यद्यपी यो मेरो विमति सबै नेपाली नर्सहरूप्रति होइन, अधिकांशप्रति भने हो।
तिमी त भगवान हौ, देवी हौ। लौन, तिम्रा अनुयायीहरुको दिलमा माया भरिदेऊ। दिमागमा सद्बुद्धि भरिदेऊ। मेरो बिन्ती छ, त्यति त गरिदेऊ।
...................
उही तिम्रो परम्भक्त,
पृथिछक बुढा
(रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका ३ रन्मा निवासी बुढा हाल युएई बस्छन्। सामाजिक अभियन्ता गिभिना मगरप्रति समर्पित प्रस्तुत लेख निज बुढाको फेसबूक पेजबाट साभार गरिएको हो।)
प्रतिक्रिया