बल पूजा अर्थात् भूम्या पर्व
बाजागाजा बजाउँदा जमिन थर्किने र टाढा-टाढा समेत त्यसको आवाज झङ्कृत हुने भएकाले जमिनमुनि अर्थात् प्रकृतिमा रहेका कीरा फट्याङ्ग्रा र चराचुरुङ्गीहरु समेत संगीतको माधुर्य सुन्न बाहिर निस्की लगाएका अन्नबालीमा लागेका कीरामिरालाई खाएर बचाउने गरेको जनविश्वास रहिआएको छ।
मगर जातिको परम्परा अनुसार भल पहिरो जानबाट रोक्न भूमिलाई पशुको बलि दिई गरिने पुजालाई बलपूजा भनिन्छ भने मगर जातिले भूमि देवतामाथि विजय प्राप्त गरी दैवी विपत्तिबाट आफूलाई जोगाएको उपलक्ष्यमा मनाइने एक उत्सव अर्थात् पर्वलाई भूम्या पर्व भन्ने गरिएको पाइन्छ।
यो पर्व परापूर्वकालदेखि नै मगर जातिको पनि विशेषत: अठार मगरात क्षेत्रहरुमा विधिवत् रुपले असार १ गते शुरु गरी ३ देखि ५ दिनसम्म हर्ष र उल्लासका साथ मनाउँदै गरेको पाइन्छ भने आजभोलि देशबाहिर पनि विशेषगरी अठार मगरात क्षेत्रका मगरहरुको बाहुल्यता भएको ठाउँहरुमा यो पर्वलाई भव्यताका साथ मनाउने गरिएको छ। यो पर्वमा दमाहा, ट्याम्को, झ्याली र सहनाई बजाएर महिला-पुरुष सामूहिक रूपमा गोलाकार भई बाईस तालमा नाच्ने गर्दछन्।
२२ तालहरू
- नौबाङ्गे/नोकोबाङ्गे चाला : यस चाला अर्थात् तालमा नाचेर भूम्या पर्वको सुरुवात गरिन्छ।
- एकोहोरो/एकसरो चाला : यस चालामा एउटा हातलाई मात्र हल्लाउँदै नाच्ने गरिन्छ।
- दोहोर/दोहोरे चाला : यस चालामा दुवै हातलाई पालैपालो हल्लाउँदै नाच्ने गरिन्छ।
- तीन पाइले चाला : यस चालामा तीनपटक अगाडि-पछाडि खुट्टा सार्दै नाच्ने गरिन्छ।
- चौभाने चाला : यस चालामा चारै दिशातिर घुम्दै सर्दै नाच्ने गरिन्छ।
- खञ्जना चाला : यो चाला छरिटो हुने भएकोले उल्लासका साथ रमाउदै नाच्ने गरिन्छ। यस खञ्जनाभित्र पनि २२ ताल हुने भएका कारणले २२ तालमै नाच्ने गरिन्छ।
- ढल्कनी चाला : यस चालामा ढल्की-ढल्की नाच्ने गरिन्छ।
- घुँडा बसाल्ने चाला : यस चालामा भुइँमा घुँडा बसाल्दै नाच्ने गरिन्छ।
- पछेउरी फाल्ने चाला : यस चालामा पछेउरी हल्लाउँदै नाच्ने गरिन्छ।
- ओ टिन्या चाला : यस चालामा फूल टिपेर शिरमा लगाए झैं गर्दै नाच्ने गरिन्छ। 'ओ' भनेको फूल हो।
- गाई दुहुने चाला : यस चालामा गाईको दूध दुहेको जस्तो गरी नाच्ने गरिन्छ।
- कोखा काट्ने चाला : यस चालामा हातलाई काखीतिर लगेर काखी काटेको जस्तो गरेर नाच्ने गरिन्छ।
- साङ्ला बाट्ने चाला : यस चालामा साङ्ला बाटेको जस्तो गरेर नाच्ने गरिन्छ।
- सप्काउने चाला : यस चालामा बर्को माथितिर सप्का हालेको जस्तो गरेर नाच्ने गरिन्छ।
- उत्तरा फाल्ने चला : यस चालामा महिला र पुरुष गीत गाउँदै गीति भाकाबाटै एकले अर्काको उत्तरा (जवाफ-प्रतिजवाफ) दिँदै नाच्ने गरिन्छ।
- मुख जोड्ने/मुख जोरोवा चाला : यस चालामा नचारुहरू जोडीजोडी भएर मुहार जोड्दै नाच्ने गरिन्छ।
- छ्टौरा चाला : यस चालामा चारपटक हात अगाडि र पछाडि मिलाउँदै नाच्ने गरिन्छ।
- घुमाउने चाला : यस चालामा आधाआधीबाटै घुम्दै-घुम्दै नाच्ने गरिन्छ।
- सती चाला : यस चालामा दाहिने र बाहिने हात पालैपालो फालेर हंकार हाल्दै नाच्ने गरिन्छ। (यो चाला मान्छेको निधनपश्चात् उसको पार्थिव शरीरलाई घरबाट बिदाइ गरेर बाटैबाटो समाधिस्थलतर्फ बजाउँदै लैजाने क्रममा नाचिन्छ।)
- बटुवा चाला : यस चालामा यताउता हिँडेको जस्तो गरी नाच्ने गरिन्छ।
- खर्गै कोन्या चाला : यस चालामा चोया (निगालो) को टुसालाई फाले झैं गरेर नाच्ने गरिन्छ। 'खर्गै' भनेको निगालाको टुसा हो।
- सलामी चाला : यस चालामा कसैलाई सम्मान गरेको जस्तो गरी 'सलाम' गर्दै नाचिन्छ।
बाजागाजाको आफ्नै महत्त्व
भूम्या पर्व वास्तवमा बालीनाली लगाइसकेपछि जेठको १ गतेदेखि तयारी गरेर असार संक्रान्ति अर्थात् असार १ गतेदेखि मनाइने पर्व हो। यस पर्वमा बजाइने बाजागाजाहरु दमाई, ट्याम्को, झ्याली र सहनाईको आफ्नै महत्त्व छ।
बाजागाजा बजाउँदा जमिन थर्किने र टाढा-टाढा समेत त्यसको आवाज झङ्कृत हुने भएकाले जमिनमुनि अर्थात् प्रकृतिमा रहेका कीरा फट्याङ्ग्रा र चराचुरुङ्गीहरु समेत संगीतको माधुर्य सुन्न बाहिर निस्केर खेतबारीमा लगाइएका अन्नबालीमा लागेका कीरामिरालाई खाएर बचाउने गरेको जनविश्वास रहिआएको छ।
किंवदन्ती
परापूर्वकालमा गाउँको नजिकै एउटा खोलो थियो। गाउँबाट त्यो खोलो देखिन्नथ्यो। त्यो खोलोबाट गाउँका मान्छेहरुले पानी भरेर लिई खाने गर्दथे। खोलामा पानी भर्न जाने क्रममा प्रत्येक दिन बेलुकीपख मान्छे हराउन थालेपछि गाउँका मान्छेहरु अचम्म बन्छन्। सबै गाउँले चिन्तित हुन्छन्। गाउँका सबै मान्छेहरु जम्मा भई छलफल गर्छन्। सरसल्लाह गर्दै पानी भर्न जाने ती मान्छे कहाँ जाँदा रहेछन् ? कि कतै कुनै जीवजन्तुले खाँदो रहेछ भनी पत्ता लागाउने सुर कसे। केही मान्छे बेलुकीपख पानी भर्न जाने मान्छेको चिवारी गर्ने निधो गर्दछन्।
सल्लाहअनुसार गाउँका केही मान्छेहरु पानी भर्न जाने बाटो र खोलाको वरिपरि लुकेर बसिरहेका हुन्छन्। यसै क्रममा बेलुकीपख गाउँबाट एकजना महिला गाग्रो बोकेर पानी भर्न खोलातिर जान्छन्। खोलाबाट गाग्रोमा पानी भरेर फर्किने क्रममा खोला छेउको ठूलो पहरको कोप्चेरा (ढुङ्गाको कोप) बाट डरलाग्दो भयंकरको अजिङ्गर बिस्तारै निस्केर पछाडिबाट क्वाप्पै निलेको देखेपछि चियो गर्ने मान्छेहरु आत्तिंदै गाउँ पुग्छन्। उक्त घटनाको बारेमा गाउँका मान्छेहरुलाई जम्मा गरेर सुनाउँछन्। घटना सुनेर गाउँलेहरु त्रसित हुन्छन्। गाउँलेहरु छलफल गर्दै त्यो अजिङ्गरलाई तह लगाउन गाउँमा शिर्पाकोटबाट आएको एकजना शिर्पालीको नेतृत्वमा फलामको ठूलो सनासो बनाई त्यस अजिङ्गरलाई सनासोले घाँटीमा च्याप्प समाती मार्ने योजना बनाउँदछन्।
उक्त योजना अनुसार नै सनासो लिएर शिर्पाली त्यो अजिङ्गर निस्कने खोला छेउको ढुङ्गाको कोपको पछाडि लुकेर ढुकिरहन्छ। र अन्य सहयोगीहरु पनि वरपर छरिएर लुकी बसिरहेका हुन्छन्। यसै क्रममा बेलुकीपख गाउँबाट फेरि एकजना महिला गाग्रो बोकेर पानी भर्न आउँछ। खोला पुगी गाग्रोमा पानी भरेर फर्किने क्रममा खोला छेउको त्यही पहरको कोप्चेराबाट त्यो अजिङ्गर बिस्तारै निस्केर पछाडिबाट गाग्री बोकेर फर्किंदै गरेकी महिलालाई खान खोज्दा पछाडि ढुकेका शिर्पालीले सनासोले अजिङ्गरको घाँटीमा च्याप्पै समात्छन्। त्यसपछि वरपर लुकेर बसेका सहयोगीहरु पनि आई पालैपालोसँग त्यस अजिङ्गरको घाँटीमा सनासोको मदतले जोडले च्याप्दै 'तँ को होस् ? हाम्रो मान्छेलाई खाने ! हामीलाई दु:ख दिने तँलाई नमारी हामी छाड्दैनौं' भन्दै रिसले चुर हुँदै अझै जोडतोडले घाँटीमा च्यापिराखेपछि अन्तमा प्राणै जाने अवस्था हुन्छ। पछि बाध्य भएर अजिङ्गरले हार मानेछ। बिन्तीका साथ अजिङ्गरले भनेछ- 'म भूमि देवता हुँ। मलाई नमार। म बरु तिमीहरूको कुरा मान्छु। मलाई मार्यौ भने तिमीहरूको अनिष्ट हुन्छ, नराम्रो हुन्छ। तिमीहरुसँग मेरो एउटा मात्र माग छ। अबदेखि प्रत्येक वर्ष आजकै दिन अर्थात् असार १ गतेका दिन भेडाको साँढेलाई चोखो बनाई भोग दिनू। म शान्त हुन्छु।' यति भनेपछि गाउँलेहरुले भूमि देवताको उक्त बिन्तीलाई स्विकार्दै अब उप्रान्त गाउँबस्तीमा कुनै दु:खकष्ट नदिने, पानी भर्न जाने मान्छेलाई पनि नखाने वाचा छोडाएर त्यो भूमि देवतालाई छाडेछन्।
त्यसपछि गाउँबस्तीमा त्यस्तो प्रकारको कुनै पनि घटनाहरु नघटेको हुनाले मगर जातिहरुले दैवी विपत्तिबाट आफूलाई बचाई भूमि देवतामाथि विजय हासिल गरेको उपलक्ष्यमा प्रत्येक वर्ष असार संक्रान्ति अर्थात् असार १ गतेका दिन भूमि देवतालाई भेडाको साँढे भोग दिई पूजा गरेपछि हर्षोल्लासका साथ पर्व मनाउन सुरु गरेको पाइन्छ।
पूजा गर्ने विधि
असार संक्रान्तिका दिन बिहान सबेरै गाउँका मुखिया, गन्यमान्य, भद्रभलाद्मी, तहबिल अर्थात् कोषाध्यक्षको घरमा जम्मा भई दमाईहरुलाई बाजागाजासहित बोलाउँदछन्। बाजागाजाको पूजा गरिन्छ। बाजागाजाको पूजाका लागि सगुनस्वरूप रक्सी, अक्षेता, पाती र ध्वजा तयारी गरिन्छ। बाजागाजाको पूजा समाप्तिपछि नोगोपो, थाँती तेन्या अर्थात् नाच्ने ठाउँको व्यवस्थापन साथै पूजा गर्न बाजागाजा बजाउँदै जाने गरिन्छ। त्यहाँ पुगेपछि चारै दिशातिर ध्वजा, पाती र धूप हाली चौफेर अक्षेता चामल फालेर सिम्याभूम्यालाई मनाउँदै नाच्ने ठाउँको पूजा गरेर नौबाङ्गे/नोकोबाङ्गे चालामा महिला र पुरुष गोलाकार भएर एकछिन नाची भूम्या पर्वको औपचारिक सुरुवात गरिन्छ। पर्वको लागि तयारी गरिएका राम्रा र मिठामसिना खान्कीहरू खाएपछि भूमि देवतालाई पूजा गरेर भोग दिनको लागि भेडा साँढे अर्थात् बल तयार गरिन्छ। बल हाल्नका लागि गाउँका कुनै मान्छेले पूजा गर्न आफ्नो स्वेच्छाले भेडा साँढे दिएको खण्डमा त्यसलाई खुसीले स्वीकारिन्छ। त्यस्तो कोही दाता नभएको खण्डमा गाउँकै कोषको पैसाले भेडो किनिन्छ। पूजाको लागि बल अर्थात् भेडा साढे तान्ने, लखट्ने व्यक्ति र पूजारीको अनिवार्य राज मिल्नुपर्ने हुन्छ। त्यसैले पहिले नै जैसीले ग्रहदशा हेरी राज मिलाएर चयन गर्ने गर्दछ। जैसीले चयन गरेको व्यक्तिको घरमा यदि कुनै जुठ्यानमुठ्यान परेको खण्डमा फेरि अरुलाई चयन गरिन्छ।
जैसीले भनेको र तोकेको समय अनुसार बल हाल्ने गरिन्छ। बल हाल्ने समयमा वन बार्ने अर्थात् गाउँ पुरै सिल गरिन्छ। वन बारेपछि अर्थात् सिल गरिएपछि कोही पनि गाउँमा आउजाउ गर्न पाइँदैन। बल हाल्ने काम सम्पन्न नहुँदासम्म जो जहाँ छ शान्त रही बस्नुपर्ने हुन्छ। यसो गरेमा भूम्या देवता आई हेर्ने र सोही भूमि देवतालाई खुशी बनाउन बल अर्थात् भेडोलाई बुकीबाट टिपेर ल्याइएको रंगीविरंगी लेकाली फूलले सजाइन्छ। दुबोपाती र मूलको पानीले चोख्याएर जैसीले तोकेको पूर्वनिर्धारित समयमै अघिअघि दमाईले एकहोरो दमाहा बजाउँदै पछिपछि भेडोलाई तानेर लखट्दै गाउँ बीचबाट लैजाने गरिन्छ। गाउँका महिला/पुरुष सबैले भेडोलाई तानेर ल्याइने बाटो कुरेर बसिरहेका हुन्छन्। दशैंको समयमा घरको संघारमा लिपाइएको गाईको सुकेको गोबरलाई उप्काई खरानी, ध्वाँसो, गहुँ, जौंको छोक्रा सुपु वा नाङ्लोमा राखी 'हाम्रो रोग व्यथा ग्रहदशा नराम्रो जति सबै लगेर जा' भन्दै बल (भेडो) माथि फ्याँकिदिने गर्दछन्। पुरुषहरूले पनि भीरपाखा र पहरोमा हुने एक वनस्पतिको पात (मगर खाम भाषामा 'हाँपला ख्या' भनिन्छ) अर्थात् हाँपलाको पातमा खरानी, ध्वाँसो, गहुँ, जौंको छोक्रा र मकैको बिरुवालाई पोको पारेर 'हाम्रो रोग, व्यथा, ग्रहदशा नराम्रो जति सबै लगेर जा' भन्दै भेडोलाई हानेर/लखेटेर गाउँ निकाला गरिन्छ। यस्तो गरेमा ग्रहदशा, रोग र व्यथा नलाग्ने विश्वास गरिन्छ।
बल हाल्ने क्रममा बल तानेर ल्याउँदा यदि उफ्रिएर सीधा बाटो नगई दायाँ वा बायाँतिर मोडिएको खण्डमा अशुभको संकेत गरेको ठहर्छ। यदि तानेर लैजाँदै गर्दा सरासर बाटो लाग्यो भने गाउँमा कुनै अशुभ संकेत नहुने जनविश्वास छ। बललाई गाउँदेखि निकाल्दै केही टाढा लगेर ढुङ्गाबाट निर्माण गरिएको थानमा दुबोपाती र मूलको चोखो पानीले मन्छाएर टाउकोमा पुर्खाउँदै 'सिम्याभूम्या देवता शान्त हुनू, तिमीले मागेको भोग दिएका छौं, गाउँले र गाउँबस्तीको रक्षा गर्नू, अनिकाल जाओस्, सुविकाल आओस्, लगाएको अन्नबालीमा कीरामीरा नलागोस्, गाउँबस्तीमा भल-पहिरो नजाओस्, आँधीहुरी नआओस्, सिम्याभूम्या दाहिने हुनू' भन्दै चोखो पानी छर्किइन्छ। बलले तीनचोटि शिर हल्लाएपछि सोही बललाई बलि दिई भूमि देवताको नाममा भोग दिइन्छ। बलि दिइएको बलको मुटु, कलेजा र शिर थानमा चढाएर लादु (मर्चा) चार दिशातिरै छरिन्छ। यसरी पूजा गरेमा भूम्या देवता शान्त हुने र गाउँबस्तीमा राम्रो हुने विश्वास छ।
पूजा गरिएको भेडोको आन्द्राभुँडी निकालेर स्यात्रा अर्थात् पात्रोको रूपमा हेरेर अनिकाल या सुविकाल तथा गाउँबस्तीमा भावी दिनमा हुनसक्ने राम्रो-नराम्रो जोगको निर्क्यौल समेत गरिन्छ। पूजा गरिएको भेडोलाई गाउँको तहबिलको घरमा लगिन्छ। गाउँका भद्रभलाद्मी, मुखिया, कटुवाल, दमाई, पूजारी लगायत गाउँलेहरू सँगसँगै पकाएर बराबर भाग लगाउँदै मदिरासहित प्रसादको रूपमा सिम्याभूम्या देउपितृलाई मनाउँदै साक्कासक्क गरेर खाने गर्दछन्। यही मेसो पारेर सिंगो गाउँको त्यसै वर्षको वार्षिक हरहिसाब अर्थात् आयव्यय सार्वजनिक गर्दै नियम-विनियमहरू थप-घट गर्दै तालुकदार समेत चयन गरिन्छ।
यो प्रथा अठार मगरात क्षेत्रका गाउँघरका किसान तथा गोठालाहरूका जनजीवनमा आजपर्यन्त छ। हरहिसाब मिलाएर तालुकदार चयन भएपछि तहबिलमा जम्मा भएका सहभागीहरू हर्ष र उल्लासका साथ भूम्या नाच नाचिने ठाउँतर्फ लाग्दछन्। गाउँलेहरु पनि त्यहाँ नयाँ-नयाँ लुगाहरु लगाई भएका गरगहनाहरूसँग सजिएर मिसिन्छन्। भूम्या पर्वमा खाइने मिठामसिना चिजबिज र परिकार तथा नयाँ लुगाफाटा पहिले नै जोहो गरिन्छ। गाउँलेले दमाईहरुलाई सगुन अर्थात् खाजानास्ता दिन्छन्। सगुन लिएपश्चात् दमाईहरु भूम्या बाजा बजाउँछन्। गाउँका बुढाबुढी, युवायुवती, केटाकेटी सबैजना नाचेर भूम्या पर्व धुमधामले मनाउन शुरु गर्दछन्।
पर्व मनाउने विधि
भूम्या पर्व मनाउनलाई एक महिना अघिदेखि नै तयारी गरिन्छ। जेठ १ गतेका दिन साँझ गाउँका युवायुवतीहरु जम्मा भई दुबोपाती, ध्वजा र रक्सी एक धार्नीसँग दमाईहरुको घरमा गएर बाजा फुकाउनको लागि अनुरोध गर्दछन्। दमाईहरुले पनि सोही अनुरोधलाई सहर्षका साथ स्वीकार गर्दै पहिले रक्सी साक्कासक्क गर्दै देउपितृ र सिम्याभूम्यालाई पुकार्दै पिउने गर्दछन्। त्यसपछि दमाहा, ट्याम्को, झ्याली र सहनाई निकालेर थर्की (नाचगान गरिने ठाउँ) मा बाजागाजाका साथ पुग्छन्। थर्कीमा ध्वजा बाँधेर एकआपसमा दुबोपाती कानमा सिउरेर आशिष आदानप्रदान गर्दछन्। दमाईहरुले 'लौ आजदेखि बाजा फुकुवा भयो' भनेर घोषणा गर्दै बाजा बजाएपछि जम्मा भएका सबैजना नाचेर भूम्या नाचको सुरुवात गर्दछन्। यसरी बाजागाजा फुकाइसकेपछि दिनभरि आ-आफ्नो काममा जाने र साँझपख गाउँका युवायुवती लगायत सबै गाउँलेहरू जम्मा भएर भूम्या पर्वमा नाचिने नाचका २२ तालहरू एक महिनासम्म सिक्ने गरिन्छ। यसबीचमा भूम्या पूजा गर्नको लागि बल तान्नलाई बलियो व्यक्तिको आवश्यकता पर्ने भएकोले डोरी तान्ने बाजी राखेर बलियो व्यक्तिको छनोट गरिन्छ। बल तान्ने, लखट्ने व्यक्ति र पूजारीको अनिवार्य राज मिलेको हुनुपर्ने भएकाले जैसीले राज मिलेका बलियाबाङ्गा व्यक्तिहरुलाई मात्र चयन गरी बल हाल्ने राम्रो समय यति घडीमा भनेर तोकिदिन्छ। जैसीले चयन गरेका मान्छेको घरमा यदि कुनै जुठो परेको खण्डमा भने फेरि अर्कोलाई चयन गरिन्छ।
असार संक्रान्ति अर्थात् भूम्या पर्व नजिकै आएपछि गाउँका युवायुवतीहरु फूल टिप्न बुकीपाटन पुग्ने गर्दछन्। बुकीपाटनदेखि दूरीले टाढा अवस्थित गाउँहरुमा संक्रान्तिको एकदुई दिन अगावै जाने गर्दछन् भने नजिकैका गाउँकाहरू असार संक्रान्तिकै दिन पुग्ने गर्दछन्।
बुकीपाटनको मनमोहक दृश्यमा रमाउँदै युवायुवतीले पाटनमा फुलेका रंगीविरंगी फूलहरु मिलेर टिप्न सुरु गर्छन्। आ-आफ्ना भाकामा लोक गीत गाउँदाको क्षणहरु स्मरणीय हुन्छन्। घरबाट लगिएका खाजानास्ता बाँडीचुँडी खान्छन्। दुख:सुख साटासाट गर्छन्। यसै बीचमा कुनैकुनै युवायुवतीबीच मायाप्रेम पानि बस्छ। यसरी रम्दै-रमाउँदै रङविरङका फूल टिपेर जम्मा गर्छन्। टिपेको फूललाई जेठको मसान्तको साँझ गाउँ पुर्याउने गरिन्छ।
रुकुमपूर्व जिल्लाको कोल गाउँमा भने पहिलेपहिले फूल टिप्न जाँदा एकजना महिला बाटोमा सुत्केरी भएछिन्। सुत्केरी महिलाको तल्लो भित्री वस्त्र सुकाइरहेको बखत हावाले उडाएर सिद्ध थानमा पुर्याइदिएछ। त्यसपछि चर्को हावाहुरी चलेर असिनापानी परेछ। गाउँको बीचमा ठूलो भल गएर गाउँलाई नै दुई चिरा बनाई ठूलो क्षति पुर्याएको भनिन्छ। त्यो बेलाको भौगोलिक अवशेष भएको ठाउँमा अझै पनि खोलो बग्छ। जसलाई बजाँग्या खोला भन्ने गरिन्छ। अशुभ हुन्छ भनेर पछिल्लो सालदेखि कोल गाउँका मान्छेहरु भूम्या पर्वमा फूल टिप्न गएको पाइँदैन।
कोल गाउँको चलनअनुसार बललाई गाउँ नजिकै पाइने वनफूलले नै सजाउने गरिन्छ भने अन्यत्रका गाउँघरमा यस घटनाभन्दा अघिकै परम्परालाई पछ्याउँदै बुकीबाटै ल्याइएका फूलहरुले भेडोलाई सजाएर बल हाल्ने गरिन्छ। बल हालेर पूजा सम्पन्न गरिसकेपछि मीठामसिना खानाका परिकारहरु खाने गरिन्छ। गाउँका बुढाबुढी, बच्चा, युवायुवती सबैले नयाँ सिलाइएका आफ्ना मौलिक भेषभूषामा सजिएर बुकीपाटनबाटै टिपेर ल्याइएका रंगीचंगी फूल सिउरेर सजिन्छन्। महिलाहरु बाहिरको घेरामा र पुरुषहरु भित्रको घेरामा गोलाकार भएर मजाले भूम्या नाचमा रमाउँदै दिल खोलेर पर्व मनाउने गरेको पाइन्छ। सयौं वा हजारौंको संख्या पनि एकै ठाउँमा गोलबद्ध भई एकलटमै मिलेर नाच्न मिल्ने लोकनाच सायद संसारमा यही भूम्या नाच मात्र हुन सक्छ।
भूम्या पर्व
भूम्या पर्व मानव जातिको विकाससँगै उत्पत्ति भएको एक प्राचीन मानव सभ्यताको जीवन्त चिनो हो। यो एक संस्कृति त हो नै, यो सँगसँगै स्थान विशेषको सत्ता परिवर्तनको एक राजनीतिक र प्रशासनिक अवसर हो। यो पर्वसँग सामाजिक, भाषिक, आर्थिक, सामरिक र भौगोलिक महत्त्व पनि जोडिएर आउँछ। यसको मुख्य सम्बन्ध माटोसँग छ। माटो छ र त हामी छौं। धर्ती छ र त यसमा उत्पादन भएका चिजहरु खाएर प्राण बचाएका छौं। वास्तवमा प्राणीजगत्मा पनि विशेषगरी मानव समुदायले जल, जमिन र जंगललाई आदर-सम्मानका साथ बचाउनु मानवीय दायित्व पनि हो।
मगर जातिले प्राचीनकालदेखि नै सिम्या र भूम्याको आदर र सम्मानका साथै पूजा गर्दै आएको पाइन्छ। स्मरण रहोस्- 'म्या' भनेको देवता हो । 'भू' भनेको जमिन अर्थात् भूमि हो। यस्तै 'सि' भनेको वन अर्थात् जंगल हो। यसरी 'सिम्या' भन्नाले वनदेवता हो भन्ने बुझिन्छ। जमिन र जंगलको संयोजन विना हामी 'जल' अर्थात् पानीको कल्पना गर्न सक्दैनौं। यदि धर्तीमा जल, जमिन र जंगल नभइदिएको भए प्राणीजगत्ले भोक प्यास मेटाउनदेखि प्राण धान्नेसम्म कुनै सम्भावना थिएन। त्यही कारणले हाम्रा पुर्खाहरूले सिम्या र भूम्याको पूजा गर्दै र मान्दै आएको पाइन्छ।
हाल सिम्या र भूम्याको बारेमा 'भूम्या' कि 'भूमे' हो भन्नेमा केही अलमल भएको देखिन्छ। यसमा अल्मलिनुपर्ने केही देखिन्न। स्पष्ट रूपमा भूम्या नै हो। 'भूमे' भनेको भाषा उच्चारणमा फरक पर्न गएको मात्र हो। यसखाले अलमलहरू विगतका दिनहरुमा पनि मगर खामलाई 'मगर पाङ' भनियो। पछि विरोध भएपछि आजभोलि पनि 'खाम' सँग 'पाङ' झुण्ड्याएर 'खाम/पाङ' भन्ने वा उल्लेख गरिएको छ। यसमा मेरो विमति (असहमति) छ। वास्तवमा 'खाम' भनेको भाषा र 'पाङ' भनेको कुरा हो। नेपाली भाषाको व्याकरणीय दृष्टिले नै हेर्दा पनि 'खाम' कर्म हो भने 'पाङ' क्रिया हो।
यस्तै मगर समुदायको धर्म बुद्ध हो भन्ने पनि गरिएको पाइन्छ। यसमा मेरो आपत्ति छ। किनकि, बुद्ध नजन्मिदै नै मगर समुदायको आफ्नै राज्य, धर्म र संस्कृति थियो। मगर समुदायले सामूहिकतामा विश्वास गर्दछन्। जसको उदाहरण हो- एकै ठाउँमा एकै किसिमका घर निर्माण गरी सामूहिक रूपमा बस्ने, सामाजिक सुधारका कामहरू आपसी सहमतिमा गर्नेदेखि विकास निर्माणमा सहभागिता जनाउन आपनाइने 'झारा' प्रथा अझै पनि जीवित छ। मगर समुदायले परापूर्वकालदेखि नै परिवार तथा समाजकै ज्येष्ठ व्यक्तिलाई पित्रृ मान्दछन्। कुनै नयाँ अन्न/खजाना खाने दिनको अवसरमा ज्येष्ठ व्यक्तिलाई चाख्न दिएर मात्र अन्य व्यक्तिलाई खान दिइन्छ। ज्येष्ठ व्यक्तिको मान-सम्मान मात्र गरिँदैन, उसको अर्ति उपदेश अनुसार परिवार वा समाज चल्ने गर्छ। ऊ बितेर गएपनि पित्रृ मानेर कुनै खानेकुरा खानुपरेमा पहिले 'सक्क...' गरी चढाएर मात्र खाने गरिन्छ। साथसाथै उनै पित्रृको पूजा पनि गर्ने गरिन्छ। यसरी जिउँदो हुँदा पनि सम्मान र बितेर गएपनि सम्मान र आदरभाव गरिने भएकाले मगर समुदायको धर्म 'पित्रृ' अर्थात् 'पितर' हुनुपर्छ भन्ने मेरो जिकीर छ।
'भूम्या' हो कि 'भूमे' हो भन्ने विषयमा पनि विगतको जस्तो अलमलमा पार्ने काम कसैले नगरौं, मेरो सबैमा अनुरोध छ। हामीले वास्तविकतालाई बुझ्न र ध्यान दिन जरुरी छ। भूम्या/भूमे शब्दको प्रायजसोले उच्चारण गर्दा पनि सिम्याभूम्या नै भन्ने गरेको पाइन्छ। 'भूम्या' शब्द बहुवचन हो। 'भूमे' भनेको एकवचन हो। एक्लो नाच्नु भूमे हुनसक्छ भने धेरैजना नाच्नु भूम्या पक्कै हो। जस्तो कि 'भ्या' ले 'धेरै' भन्ने अर्थ जनाउँछ। 'भूम्या' उच्चारण गर्दा मुख फराकिलो बन्छ भने 'भूमे' उच्चारण गर्दा मुख खुम्चिन्छ। यसै पनि मगर खाम भाषाको लवजमा मुख तन्किएर फराकिलो हुनुले 'धेरै' जनाउँछ भने बोलाइमा मुख खुम्चिनुले 'कम' जनाउँछ।
'भूम्या' हाम्रो आत्मा हो। यसर्थ, 'भूम्या' नै हाम्रो समुदायको लागि विशुद्ध र निर्विकल्प शब्द हो। जसले हामीलाई एकताबद्ध, गोलबद्ध र एकीकृत गर्ने सामर्थ्य राख्छ। 'भूम्या पर्व' संस्कृति र प्रकृतिसँग जोडिएको कारण सिंगो मानवजातिले आफ्नै लागि भए पनि आफ्नो संस्कृतिको जगेर्ना गर्दै प्रकृतिको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन्छ।
आउँदै गरेको भूम्या पर्वको पावन अवसरमा विश्वभर छरिएर रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी र साथीहरूमा सुख, शान्ति, प्रगति, समृद्धि, सु-स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
जेरो ! झोर्ले !! सेमिपाउ !!!
(रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका १२ कोल निवासी पुन नेपाली कथानक चलचित्र 'मोड्याल्नी' र 'ढुकुटी' का निर्देशक हुन्। पुन 'मोड्याल्नी' का नायक समेत हुन्।)
प्रतिक्रिया