हैट्‌ ! टेकनाथजी, कहाँ फसेको?

टेकनाथ रिजालसँग पछिल्लो पटक भेट हुँदा उनले भनेका थिए- 'हरिजी, म नेपालमा बाँकी रहेका र हातमा कुनै पनि देशको नागरिकता नभएका तिनै ६ हजार ५ सय भुटानी बन्धु-बान्धवहरूलाई पहिचानसहितको सम्मानजनक जीवन प्रदान गर्ने अभियानमा छु।'

हैट्‌ ! टेकनाथजी, कहाँ फसेको? टेकनाथ रिजाल। तस्‍बिर स्रोत : गूगल

नक्कली भुटानी शरणार्थी काण्डमा भुटानका विद्रोही नेता टेकनाथ रिजाल पनि पक्राउ परेको समाचार सुनेर म स्तब्ध भएको छु। प्रहरी सूत्रले जनाएअनुसार नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने राज्यविरुद्धको आपराधिक प्रपञ्‍चमा लागेको गिरोहका एक व्यक्तिसँग रिजालले ७ लाख रूपैयाँ बुझेको प्रमाण भेटिएपछि उनलाई गिरफ्तार गरिएको हो।

थिम्पु दरबारको कोपभाजन भई यातना पाउने नेपाली मूलका भुटानीहरूमध्ये टेकनाथ रिजाललाई सबैभन्दा यशस्वी र प्रतिष्ठित मान्‍न सकिन्छ। राजाको सल्लाहकार परिषद्को सदस्य छँदै तत्कालीन ड्रुक रेजिम (Druk Regim) ले नेपाली मूलका नागरिकहरूमाथि लादेको भाषिक, शैक्षिक र पोशाकसम्बन्धी विभेदकारी नीति-नियमविरुद्ध आवाज उठाएका कारण रिजालले देश छोडेर नेपालमा शरण लिनुपरेको थियो। आफ्‍नो पुर्खाको देश नेपालमा पनि उनले शान्तिपूर्वक बस्‍न पाएनन्। झापा बिर्तामोडमा बसिरहेका उनलाई मरीचमान सिंह श्रेष्‍ठ नेतृत्वको तत्कालीन पञ्‍च सरकारले त्यहाँबाट अपहरण गरी काठमाडौं ल्यायो र हवाइजहाजमा चढाएर भुटान पठाइदियो। नेपाल सरकारले शरणको मरण गरेर निर्दयी भुटानी राजाको जिम्मा लगाइएका टेकनाथ रिजाललाई थिम्पु दरबारले महिनौंसम्म भीषण शारीरिक र मानसिक यातना दिएपछि जन्मकैदको सजाय तोक्यो। त्यसपटक उनले १० वर्ष नारकीय बन्दी जीवन भोग्‍नुपर्‍यो।

रिजाल कारावासमुक्त भएर नेपाल आउँदा भुटानबाट लखेटिएका लगभग डेढ लाख भुटानी-नेपालीहरू नेपाल आइसकेका र संयुक्त राष्‍ट्र संघको सहयोगमा पूर्वी सीमान्त जिल्ला झापामा खडा गरिएका ८ वटा शरणार्थी शिविरहरूमा बडो कष्‍टकर जीवन बिताइरहेका थिए। रिजाल लगायत अन्य भुटानी नेताहरूका साथै नेपाल सरकारले पनि ती शरणार्थीहरूलाई भुटान फर्काउने प्रयास निरन्तर जारी राखे। तर भारत सरकारले पछाडिबाट धाप दिइएका ड्रुक (Druk) राजा टसका मस नभएका कारण भुटानी शरणार्थीहरू पितृभूमि फर्किन पाएनन्। त्यस सन्दर्भमा टेकनाथ रिजाल भुटानी शरणार्थीहरूका सबैभन्दा प्रभावशाली आवाज भने बनेका थिए।

शरणार्थीहरूलाई भुटान फर्काउन सम्भव नभएपछि संयुक्त राष्‍ट्र संघ, संयुक्‍त राज्‍य अमेरिका, युरोपियन युनियन र नेपाल सरकारको संयुक्त प्रयत्‍नमा शरणार्थीमध्ये इच्छुक जतिलाई तेस्रो मुलुकमा लगेर पुनर्वास गराउने स्किम अगाडि सारियो, जुन लगभग सफल सावित भयो। अहिलेको घडीमा झापाका लगभग उजाड भएका शरणार्थी शिविरहरूमा जम्माजम्मी ६ हजार ५ सय जना मात्र छन् भने तेस्रो मुलुकमा १ लाख २० हजार जति शरणार्थीहरूको पुनर्वास भइसकेको छ। संयुक्‍त राज्‍य अमेरिकामा मात्रै १ लाखभन्दा बढी भुटानीहरूलाई पुनर्स्थापित गराइएको छ। अमेरिका बाहेक भुटानीहरूलाई स्वागत गर्ने अन्य देशहरूमा क्यानाडा, संयुक्‍त अधिराज्‍य, अस्ट्रेलिया, डेनमार्क, द निदरल्‍यान्‍डस्,  बेल्जियम, नर्वे र स्विडेन छन्।

टेकनाथ रिजालसँग पछिल्लो पटक भेट हुँदा उनले भनेका थिए- 'हरिजी, म नेपालमा बाँकी रहेका र हातमा कुनै पनि देशको नागरिकता नभएका तिनै ६ हजार ५ सय भुटानी बन्धु-बान्धवहरूलाई पहिचानसहितको सम्मानजनक जीवन प्रदान गर्ने अभियानमा छु।' अहिले नक्कली शरणार्थी काण्डमा उनको गिरफ्तारी भएपछि म खङ्ग्रङ्‌ङ भएको छु। मलाई भन्‍न मन लागेको छ- हैट्‌ ! टेकनाथजी कहाँ फसेको ?

टेकनाथ रिजालको बहुचर्चित संस्मरणात्मक वृत्तान्तको पुस्तक 'निर्वासन' मा मैले गरेको समीक्षा मन परेर उनी मलाई भेट्‍न आएपछि हामी दुईका बीच घनिष्‍ठता कायम भएको थियो। मैले यसै वर्ष प्रकाशनमा ल्याउन खोजेको अन्तर्वार्ता संग्रह 'सम्वाद सञ्‍चयिनी' का लागि उनीसँग पनि सघन वार्तालाप गरेको छु।

रिजालको गिरफ्तारीपछि उनलाई फिचर गर्ने कि नगर्ने भन्‍ने दोधारमा परेको छु। त्यसैले पनि भन्‍न मन लागेको छ- हैट्‌ ! टेकनाथजी कहाँ फसेको ?

 

(साहित्‍यकार तथा पत्रकार अधिकारीको फेसबूक पेजबाट साभार)