फोटोपत्रकारद्वारा प्रधानमन्‍त्रीलाई ज्ञापनपत्र

फोटोपत्रकारिताको माध्यमबाट जीविकाेपार्जन गर्ने पत्रकारहरूको बीमा सुरक्षा र हरेक वर्ष प्रदान गरिने राष्ट्रिय मान-पदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटोपत्रकारिता विधा समावेश गर्न माग गरिएकाे छ।

फोटोपत्रकारद्वारा प्रधानमन्‍त्रीलाई ज्ञापनपत्र प्रधानमन्‍त्री पुष्‍पकमल दाहाल 'प्रचण्‍ड' लाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका पदाधिकारी।

काठमाडौं, ३ जेठ

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई ज्ञापनपत्र बुझाएको छ। संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वको टोलीले बुधबार बिहान प्रधानमन्‍त्रीलाई भेटी ७ बुँदे ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा नेपालमा विभिन्‍न संचारगृहहरुमा फोटोपत्रकारिता गर्ने फोटोपत्रकारहरुको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्रदान गर्न र फोटो संग्रहालयका चाहिने भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

त्यस्तै फोटोपत्रकारिताको माध्यमबाट जीविकाेपार्जन गर्ने पत्रकारहरूको बीमा सुरक्षा र हरेक वर्ष सरकारबाट प्रदान गरिने राष्ट्रिय मान-पदवी अथवा प्रबल जनसेवाश्री पदकमा फोटोपत्रकारिता विधा समावेश गर्न माग गरिएकाे छ। फोटोपत्रकारहरुलाई व्यावसायिक र मर्यादित बनाउनका लागि विभिन्‍न तालिमहरू दिनलाई वार्षिक रूपमा बजेट नियमित उपलब्ध गराउन र समयानुकूल वृत्तिविकास गर्न र फोटोपत्रकारहरुलाई आवश्यक क्यामेरा किन्‍न सहुलियत दरमा ऋण उपलब्ध गराउन समेत माग गरेको छ।

ज्ञापनपत्र हस्‍तान्‍तरण क्रममा संस्थाको तर्फबाट कार्यवाहक महासचिव सागर श्रेष्ठमार्फत्‌ ज्ञापनपत्र वाचन गरेर प्रधानमन्त्रीलाई बुझाइएको थियो। ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले फोटोपत्रकारहरुका माग जायज भएको बताउँदै माग पूरा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिए। ‘मागहरु जायज रहेका छन्। त्‍यति ठूला र गर्न नसकिने माग छैनन्। यसको लागि पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले आश्‍वासन दिए।

आफ्‍नो कार्य व्यस्तताको बाबजुद अमूल्य समय प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति संस्थाको तर्फबाट धन्यवाद तथा आभार समेत प्रकट गरियो। साथै भेटघाट सहजीकरणका लागि अहम्‌ भूमिका खेलेकोमा प्रधानमन्त्री कार्यालय परिवार र अध्यक्ष प्रदीपराज वन्‍तप्रति पनि धन्यवाद टक्र्‌याइयो।