भ्रष्टाचार र संगठित अपराधको जालो
पार्टीलाई पैसा लगानी गर्छन्, चुनावमा गुण्डा परिचालन गर्छन्, आर्थिक संस्थाहरु निर्माण गर्छन् र नेताहरूलाई पनि समावेश गर्दै लगानी गर्छन्। नेताका पैसा व्यवस्थापन गर्न थाल्छन् र नेताका माध्यमबाट पार्टीमा राम्रो पकड निर्माण गर्छन्। यस बेलासम्ममा कतिपय नेता र उनका मान्छेलाई समेत संगठित अपराधमा परिणत गर्छन्।
चरण १ - अपराधीहरु एक्लाएक्लै अपराध गर्न छोडेर संगठित ग्याङ निर्माण गर्छन्। लागूपदार्थ, हप्ता असुली एवं कसैसँग पैसा लिएर उसका पक्षमा संगठित बलको सहयोग गर्न थाल्छन्।
चरण २ - यी ग्याङमा झगडा हुन थाल्छ र ग्याङ फुट्छन्। त्यसपछि उनीहरू राजनीतिक शरणमा पुग्छन् र पार्टी कार्यकर्तामा रुपान्तरित हुन्छन्।
चरण ३ - पार्टीलाई पैसा लगानी गर्छन्, चुनावमा गुण्डा परिचालन गर्छन्, आर्थिक संस्थाहरु निर्माण गर्छन् र नेताहरूलाई पनि समावेश गर्दै लगानी गर्छन्। नेताका पैसा व्यवस्थापन गर्न थाल्छन् (खासगरी नेताका छोराछोरी र आफन्त संलग्न गर्छन्) र नेताका माध्यमबाट पार्टीमा राम्रो पकड निर्माण गर्छन्। यस बेलासम्ममा कतिपय नेता र उनका मान्छेलाई समेत संगठित अपराधमा परिणत गर्छन्।
चरण ४ - वित्तीय संस्थामा आफ्नो संलग्नता स्थापित गर्दछन्। अर्कोतिर कर्मचारीतन्त्रमा राम्रो सम्बन्ध स्थापित गर्दछन्। यस चरणमा आइपुग्दा यिनीहरू पार्टीमा हावी भइसकेका हुन्छन्। यस बेलासम्म यो समस्याको समाधान सम्भव छ। तर कानून कार्यान्वयन हुन्न। किनकि, वित्तीय संस्थाको यो अवस्था वित्त पूँजीवाद र नवउदारवादका लागि राम्रो कुरा हो।
चरण ५ - संगठित अपराधीहरु नीतिनिर्माण गर्ने निकायमा पुग्छन्। उनीहरुको उपस्थिति अनेक किसिमका आयोग, मन्त्रीका सल्लाहकार मण्डल, संसद, वित्तीय संस्थाका बोर्ड आदिमा हुन्छ। यस अवस्थामा पुग्दा उनीहरूले पार्टीको लगानीकर्ता, नेताले खाएको घूस तथा लगानी व्यवस्थापनकर्ता र राष्ट्रमा उनीहरू चिनिएका गन्यमान्य व्यक्ति भइसकेका हुन्छन्। यो चरणमा आइपुग्दा पूँजीको ठूलो हिस्सा भूमिगत हुन पुग्छ। यो चरण आएपश्चात् यसप्रकारका अपराध रोक्न सकिन्न। र, ठूलो परिवर्तन आवश्यक हुन्छ।
१. अहिले हुण्डीबाट ठूलो रकम प्रत्येक दिन दोहा (कतार) जान्छ।
२. प्रतीतपत्र (लेटर अफ क्रेडिट) खुल्छ, सामान बोकेको ट्रक आउँछ, भन्सार पनि तिरिन्छ। तर पनि सामान आउँदैन। यो विदेशी मुद्रा विदेश लैजान गरिएको खेल हो। यस समयमा व्यापारी र नेताको सहकार्य हुन्छ। संगठित अपराधीहरु कारोबारका एजेन्टको रूपमा काम गर्छन्।
३. यस प्रकृतिको धन्दाले भ्रष्टाचारलाई जताततै फैलाउँछ र कर प्रणालीलाई असर गर्छ। त्यो असरलाई रोक्न सरकारले गरीब र कामदारमाथि करको भार थप्छ।
४. पैसा विदेशिन्छ। यता देशमा लागूपदार्थ र अन्य अवैध धन्दाको वृद्धि हुन्छ। अहिले नेपाल लागूपदार्थको केन्द्र बनेको छ। लागूपदार्थको ठूलो अंश दोहा हुँदै नेपाल आउँछ। यताको पैसा पनि दोहा जान्छ। अत: भ्रष्टाचार, पैसा पलायन र लागूपदार्थको सम्बन्ध स्थापित हुन्छ।
५. यी सबै धन्दाका लागि निजीकरण र नवउदारवाद चाहिन्छ।
६. निजीकरणवादीहरुले पश्चिमी शक्तिको साथ लिएर नयाँ राजनीतिक शक्तिको निर्माण गर्छन्। स्थापित दलका नेतामा भ्रष्टाचार र संगठित अपराध दैनिक क्रिया बन्छ। उसको यो प्रवृत्तिलाई देखाएर समाजमा राजनीतिप्रति विरक्ति (वितृष्णा) पैदा गरिन्छ। यो विरक्तिको विकल्प खोजिन्छ। जस्तै- गगन थापाजीलाई पार्टीबाट विरक्त लाग्छ। पुरानो दललाई पुरानाले कब्जा गर्छन्। नयाँ विकल्पमा लाग्छन्। जनता पुरानालाई चुनावमा पछार्न दौडिन्छन्। विकल्पलाई बोक्ने तागतले निजीकरणलाई बलियो बनाउँछ।
संगठित अपराधको बढ्दो प्रवृत्तिको पहिला नै अध्ययन गरी छ्लफलमा ल्याइएको थियो। संगठित अपराध नवउदारवादको नीति अन्तर्गत मौलाएको थियो भन्ने अहिले प्रमाणित भएको छ। तर देशमा नेतालाई भ्रष्टाचार र युवाको ठूलो जमातलाई भ्रम-पण्डित्याइँ (स्युडो नलेज) ले ग्रस्त पारेको छ।
विकल्प केबल उत्पादनमुखी अर्थतन्त्र, देशभक्तिपूर्ण सोच र सामूहिकीकरणलाई प्रवर्द्धन गर्ने वित्त नीतिमा विश्वास गर्ने शक्ति मात्र हो। यस्तो शक्ति वैज्ञानिक जागरण भएको जमातले मात्र निर्माण गर्छ।
(डा.संग्रौलाको फेसबूक पेजबाट साभार। संग्रौला पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक हुन्।)
प्रतिक्रिया