सेतो टीकाको प्रयोगबारे सार्वजनिक अपील

हाम्रो स्थानीय संस्कृति अनुसार दहीमा चामल मुछी टीका लगाइदिने र दुबो पाती दिने चलन परापूर्वकालदेखि चल्दै आएको छ।

सेतो टीकाको प्रयोगबारे सार्वजनिक अपील विजया दशमीको दिन मैकोटमा मान्‍यजनबाट टीका ग्रहण गर्दै।

जनताको करको उचित सदुपयोग गरी सार्वजनिक खर्चलाई किफायती, नतिजामुखी र प्रभावकारी बनाउनु हामी सबैको कर्तव्य हो। यसै सन्दर्भमा विभिन्न सार्वजनिक समारोह र कार्यक्रममा अबिर खादाको प्रयोगबारे हामी सबै जानकार छौं। तर ती खादाहरुको वास्तविक प्रयोजनको तात्पर्य खासै केही देखिँदैन। अबिर खादामा वर्षेनी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले मोटो रकम खर्च गर्दै आइरहेको विषयलाई मध्यनजर गर्दै सम्मान, स्वागत  र बिदाइ जस्ता कार्यक्रममा यस्ता वस्तुहरुको सट्टा स्वास्थ्य र स्थानीय संस्कृतिमैत्री वस्तुहरुको प्रयोग गर्ने उद्देश्यले २०७९ चैत २७ गते सम्पन्न पुथा उत्तरगंगा गाउँपालिकाको १२ औं गाउँ कार्यपालिका बैठकले “यस गाउँपालिका अन्तर्गतका विभिन्न सरकारी कार्यालय, विद्यालय, सामुदायिक संघ–संस्थाले आयोजना गर्ने सरकारी समारोह, कार्यक्रममा खादा अबिरको पूर्ण निषेध गरी उक्त कार्यक्रमहरुमा अनिवार्य सेतो टीका (चामल सहितको) र दुबो पातीको पुष्पगुच्छा प्रयोग गर्ने” निर्णय गरेकाले सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई उक्त निर्णयको पूर्ण पालना गर्न/गराउन सविनय अनुरोध छ।

एकातर्फ खादाको प्रयोगको वास्तविक प्रयोजन नदेखिएको र अर्कोतर्फ अबिरमा हुने हानिकारक रसायनले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा यी वस्तुको विकल्पमा जानु अत्यावश्यक रहेको भन्दै गाउँ कार्यपालिकाले यस किसिमको निर्णय गरेको छ। हाम्रो स्थानीय संस्कृति अनुसार दहीमा चामल मुछी टीका लगाइदिने र दुबो पाती दिने चलन परापूर्वकालदेखि चल्दै आएको छ। गाउँ कार्यपालिकाको उपरोक्त निर्णयले सार्वजनिक रकमको बचत तथा स्वास्थ्य सुरक्षा र स्थानीय संस्कृतिको संरक्षण एवं संवद्र्धनमा थप टेवा पुग्ने हुँदा सेतो टीका र दुबो पातीको पुष्पगुच्छाको प्रयोग गरी खादा र अबिरको प्रयोगलाई विस्थापन गर्न सबैमा अपील गर्दछौं।

.....................
पुनीराज घर्ती
गाउँपालिका अध्यक्ष 

......................
राजन कँडेल
प्रमुख प्रशासकीय अधिकृत


(पुथा उत्तरगंगा गाउँपालिकाबाट चैत २७ गते प्रकाशित सार्वजनिक अपीलको सम्पादित अंश)