हिमपातले यार्सा सिजन प्रभावित

३ हजार मिटर उचाइसम्मका भूभागमा बाक्लो हिउँ परेको छ।

हिमपातले यार्सा सिजन प्रभावित २०७१ साल जेठ महिनामा पुपाल लेकमा परेको हिमपातले प्रभावित यार्सा दैनिकीको एक दृश्य।


मैकोट, २०८० वैशाख १५

बेमौसममा परेको हिउँले हिमाली जिल्ला रुकुमपूर्वको यार्सा सिजन प्रभावित बनेको छ। विशेषतः पुथा उत्तरगंगा गाउँपालिकाको १, २ र ३ नम्बर वडाका वासिन्दाहरु प्रत्यक्ष प्रभावित बनेका हुन्।

यार्सा सिजन सुरु भएपछि तीनै वडाका वासिन्दाहरु यार्सा संकलनका क्रममा वैशाख पहिलो हप्ता लेकतर्फ उक्लेका थिए। रन्माका वासिन्दाहरु भने चैत मसान्तको दिन नै लेकतर्फ लागेका थिए। ८ गतेदेखि दिनानुदिन परेको हिमपातले केही यार्सा संकलकहरु हिउँमै फसेका हुन सक्ने अनुमान गरिएको थियो। अधिकांश यार्सा संकलक घरतिर झरेका छन्। वडा नं. ३ रन्माका वडाध्यक्ष बमबहादुर बुढा ‘विजय’ का अनुसार साङ्रे र सुन्दह दुई ब्लकमा रहेका यार्सा संकलक ११ गतेसम्म सबै झरिसकेका थिए भने बाँकी रहेका दुई तीन जना पनि १३ गतेसम्म निख्रिसकेको खबर छ।

यता वडा नं. १ मैकोट गाउँका विश्व पुनको आधा दर्जनको टोली पुर्वाङ क्षेत्रमै अड्किएका थिए। 

३ हजार मिटर उचाइसम्मका भूभागमा बाक्लो हिउँ परेको छ। यार्सा संकलकका अनुसार भारी हिमपातको भारले रुखहरु ढलेर बाटो अवरोध समेत भएको थियो भने घोडाखच्चर र भेडाबाख्रा लगायतका चौपायाको चरिचरन नराम्ररी प्रभावित बनेको छ। ‘बाटोघाटो छेउछाउ र वनजंगलका भर्खर पालुवा पलाएका रुखहरु ढलेर मान्छे र वस्तुभाउ आवतजावत गर्ने क्षेत्र अवरोध बनेको छ’, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ का टोपबहादुर पुनले बताए– ‘धौधौ उम्केर आउनुप¥यो। ढलेका रुखका कारण घोडाखच्चरले बाटो थम्याउन नसक्दा दैनिकी थप कष्टकर बनेको छ।’ भेडापालक कृषकहरुका अनुसार औल भनिएका ठाउँमा पनि भेडाबाख्रालाई डाला काटेर खुवाउनुपर्ने बाध्यता छ भने लेकतिर उकालिनुपर्ने भेडाका बथानलाई उल्टै तल्लो भेगतिर झार्नुपर्ने देखिन्छ। 

यो वर्ष पुथा उत्तरगंगाका वडा नं. १, २ र ३ का स्थानीय वासिन्दाहरुले एक घर बराबर दुईजना सुरक्षा खटाएका छन्। उनीहरु जेठ दोस्रो सातासम्म यार्सागुम्बा उम्रिने पाटनमा यार्साको सुरक्षा भन्दै रखालो बस्ने छन्। यार्सा सुरक्षा र सर्वसाधारणबाट उठेको रकमको केही अंश राज्यलाई राजश्व भन्दै गाउँपालिकालाई बुझाइने छ। 

विगतका वर्षभन्दा यो वर्ष केही ढिलो सिजन सुचारु हुने स्थानीयले बताएका छन्। पुस माघमा हिउँ नपरेकाले आजकल बेमौसममा जति हिउँ परे पनि त्यसको टिकाउ नहुने भएकाले आत्तिनु नपर्ने कतिपयको तर्क पनि छ।