मृतकका परिवारले २-२ लाख किरिया खर्च पाउने

सोमबार बसेको कार्यपालिका बैठकले मृतकप्रति चीरशान्तिको कामना गर्दै निज मृतकका दुई परिवारप्रति समवेदना प्रकट गर्नुका साथै शोकप्रस्ताव पारित गरी काजकिरिया खर्चस्वरुप प्रतिपरिवार बराबर दुई लाख राहत रकम दिने निर्णय गरेको हो।

मृतकका परिवारले २-२ लाख किरिया खर्च पाउने बायाँबाट कालीमाया र रीना बुढा।

रुकुमपूर्व, २८ चैत।

गएको २३ गते पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. ३ रन्मामा मृत भेटिएका रीना बुढा र कालीमाया बुढा तथा गत मंसिर ८ गतेबाट हुम्‍ला जिल्‍ला चंखेली गाउँपालिकामा बेपत्ता भई यसै महिनाको १२ गते कर्णाली नदीमा मृत भेटिएका पुथा उत्तरगंगा गाउँपालिका वडा नंं. ६ मयाङ निवासी संसार घर्तीका परिवारले राहतस्‍वरूप दुई–दुई लाख रकम पाउने भएका छन्।

सोमबार बसेको पुथा उत्तरगंगा कार्यपालिका बैठकले मृतकप्रति चीरशान्तिको कामना गर्दै निज मृतकका दुई परिवारप्रति समवेदना प्रकट गर्नुका साथै शोकप्रस्ताव पारित गरी काजकिरिया खर्चस्वरुप प्रतिपरिवार बराबर दुई लाख राहत रकम दिने निर्णय गरेको हो। साथै रीना र कालीमाया बुढा दिदीबहिनी घटनाको छानविनका लागि लिइएको हेलिकप्‍टर चार्टर खर्च पनि गाउँपालिकाले नै व्‍यहोर्ने निर्णय समेत भएको छ।

कार्यपालिका बैठकले दुवै घटनाको सत्यतथ्य खोजी गर्न एवं पीडितको न्यायको लागि गाउँपालिका परिवारको पूर्ण साथ सहयोग रहेको प्रतिबद्धता दर्शाएको छ।

यस दुखद घडीमा मृत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होओस् भन्ने कामना गर्दै गाउँपालिका परिवार भावपूर्ण समवेदनासहित यो शोक प्रस्ताव पारित गर्दछौं भनी गाउँपालिका अध्यक्ष पुनीराज घर्तीद्वारा हस्ताक्षरित शोक प्रस्तावपत्रमा उल्लेख छ।

संसार घर्ती।

हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी प्रेमिकालाई भेट्‍न गत मंसिर ६ गते हिँडेका संसार घर्ती सुर्खेत हुँदै २ दिनपछि चंखेली पुगेका थिए। चंखेली पुगेपछि बेलुका साढे ४ बजेतिर आफ्ना साथीलाई फोन गरेका उनी त्यसपछि बेपत्ता भएका थिए। मंसिर ८ गते अपराह्नदेखि बेपत्ता भएका संसारको शव यही चैत १२ गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको थियो।
 

शोक प्रस्तावपत्र।

शोक प्रस्ताव

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ६ मयाङ निवासी लीला घर्ती र घुमिमाया घर्तीका छोरा वर्ष २२ का संसार घर्ती मगर संवत् २०७९/०८/०८ देखि सम्पर्कविहीन भएकोमा संवत् २०७९/१२/१२ गते कर्णाली नदीमा भेटिएको र वडा नं. ३ रन्मा निवासी तारामान बुढाका छोरीहरु रीना बुढा र कालीमाया बुढा संवत् २०७९/१२/२२ गतेदेखि हराई खोजतलासको क्रममा संवत् २०७९/१२/२३ गते दुवैको शव भेटिएको घटनाप्रति यस पुथा उत्तरगंगा गाउँपालिका स्तब्ध हुनका साथै गम्भीर ध्यानाकर्षण भएको छ।

संवत् २०७९/१२/२७ गते सम्पन्न गाउँ कार्यपालिका बैठकले मृतकको चीरशान्तिको कामना र शोकाकुल परिवारप्रति गहिरो समवेदना अर्पण गर्दै रीना बुढा र कालीमाया बुढाको घटनाको छानविनका लागि लिइएको हेलिकप्टर चार्टर्ड खर्च यस पालिकाले भुक्तानी गर्ने र संसार घर्ती र रीना बुढा र कालीमाया बुढाको परिवारलाई काजक्रिया खर्चवापत् प्रतिपरिवार रु. २,००,०००/– (अक्षरेपि दुई लाख रुपैयाँ मात्र) दिने घोषणा गरेको व्यहोरा अवगत गराउँदै दुवै घटनाको सत्यतथ्य खोजी एवं पीडितको न्यायका लागि पूर्ण साथ सहयोगका लागि गाउँपालिका परिवार प्रतिबद्धता जाहेर गर्दछ।

यस दुखद घडीमा मृतक आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनप्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होओस् भन्ने कामना गर्दै गाउँपालिका परिवार भावपूर्ण समवेदनासहित यो शोकप्रस्ताव पारित गर्दछ।

........................
पुनीराज घर्ती
गाउँपालिका अध्यक्ष