रीना–कालीमाया घटनाका ‘शंकास्पद व्यक्ति’ पक्राउ

रीना–कालीमाया घटनामा शंकाको घेरामा रहेका भनिएका व्यक्तिहरू पक्राउ परेका छन्।

रीना–कालीमाया घटनाका ‘शंकास्पद व्यक्ति’ पक्राउ मृतकद्वयकी शोकविह्‍वल आमासँगै आफन्‍तजन। तस्‍बिर स्रोत: दयासरी बुढा

रुकुमपूर्व, २५ चैत।

रीना–कालीमाया घटनामा शंकाको घेरामा रहेका भनिएका व्यक्तिहरू पक्राउ परेका छन्। केही समयअघि प्राप्‍त जानकारी अनुसार उनीहरू पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ४ घुन्‍मामा रातको सवा ११ बजे समातिएका हुन्।

छिमेकी गाउँ अर्जलको बाटो हुँदै रन्मातर्फको बाटो फर्कंदै गरेको अवस्थामा स्थानीय सुरबहादुर वि.क. दम्पतीले रोकिराखेकै बखत जिल्ला प्रहरी कार्यालय रुकुमकोटबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो। सुरबहादुर वडा नं. ४ का वडाध्यक्ष समेत हुन्। वडाध्यक्ष सुरबहादुरको घर रन्मा-अर्जल आउजाउ गर्ने मूल बाटोसँगै रहेको छ।

'हिजैदेखि "यति उमेर समूहका र फलानो फलानो हुलिया भएका दुई किशोरी घुन्माको बाटो भएर तल या माथि गर्न सक्छन्, ख्‍याल राखिदिनुहोला" भन्‍ने अपुष्‍ट खबर रन्माबाट आएको थियो। ठ्‍याक्कै संयोग मिल्न आयो', सुरबहादुरले बताए- 'घरनजिकै आइरहेको थाहा पाएपछि बाटो रोकी घरमै बोलाएर गफगाफमा भुलाउनु परेको थियो।'

‘के कति कामले यता आएको भनी सोध्दा आफ्‍नै घर रन्मातिरै फर्किरहेको भनेर बताएका थिए’, सुरबहादुरले भने– ‘सोधेको कुराको निर्धक्‍कसाथ जवाफ दिन्थे पनि।’ रन्मा र अर्जल–घुन्माका स्थानीय जनप्रतिनिधिका अनुसार यी दुई किशोरी वडा नं. ९ खाराबाङबाट फर्काइएका हुन्। उनीहरुका अनुसार यी दुईजना रहस्यमयी किसिमले खाराबाङ, पुनमचौतारा हुँदै चारगाउँतर्फ लाग्‍ने बताएका थिए।

शंकाको घेरामा परी पक्राउ परेका भनिएका दुई व्यक्ति रन्मा गाउँका स्थानीय किशोरी हुन्। स्थानीय रन्मालीका अनुसार सुस्मिता बुढा र खलक बुढा नाम गरेका दुई किशोरी बिहीबार साँझ करिब ६ बजेदेखि गाउँमा देखिएका थिएनन्। वडा नं. ३ रन्माका वडाध्यक्ष विजयका अनुसार यी दुईको उमेर अन्दाजी १४–१५ वर्षभन्दा बढी छैन। 

शुक्रबार साँझदेखि नै रन्मा गाउँका केही स्थानीयले भाइरल हुने गरी उर्दी जारी गरिएको शैलीमा फेसबूकमा चारजना महिलाको तस्बिर र तीमध्‍ये दुईजनाको नामै किटेर सूचना प्रवाह गरेका थिए। फेसबुकमा प्रवाह गरिएको सूचनाको एउटा व्यहोरा यस्तो थियो– "पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ बस्‍ने सुस्मिता बुढामगर र खलक बुढामगर मिति २०७९/१२/२३ गतेका दिन साँझ करिब ६ बजे फरार भएका हुनाले भेट्‍नुहुने सम्पूर्ण महानुभावहरूले नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध गर्दछु।"

दुई किशोरीलाई मात्र यसरी सामाजिक सञ्‍जालमै नाम किटानी गरिनुको कारण स्‍थानीयका अनुसार शंकाको घेरामा रहेका भनिएका उनीहरू गाउँमा नदेखिएर मात्र नभई खोजी गर्दा पनि नभेटिएकाले हो भनिएको छ। दुई दिनअघि मात्रै रन्‍माकै अर्की दुईजना 'बुढा' थरकै युवती बिहीबार साँझ नै प्रहरीको नियन्‍त्रणमा परेका थिए। उनीहरूलाई छिमेककै वडा नं. ५ गरघाटमा प्रहरीको एक टोलीले अनुसन्‍धानका लागि नियन्त्रणमा लिएको थियो। नाम उल्‍लेख नगर्ने शर्तमा स्थानीय रन्मालीहरूका अनुसार यी दुई युवतीको उमेर अन्दाजी २० देखि २२ वर्षको छ।

मृतक रीना र कालीमाया बुढा दिदीबहिनीको शव पोस्टमार्टमका लागि शुक्रबारै रुकुमकोटतर्फ लगिएको छ।