रीना-कालीमाया घटना -३
'हालसम्म दुईजना महिला अनुसन्धानको घेरामा। घेरा कसिलो छ।'
रुकुमपूर्व, २४ चैत।
'लेख्नलाई कुनै शब्द छैन। यी मेरा प्यारा विद्यार्थी रीनाले कक्षा ४ मा र कालीमायाले २ कक्षामा पढ्दै थिए। यी मासुम बच्चाको के गल्ती थियो हाेला र ! कलिला मेरा विद्यार्थीकाे हत्या गरियाे। यी बच्चीहरुकाे आत्माले शान्ति पाओस्।' रन्मास्थित आधारभूत विद्यालयकी शिक्षिका गंगा गुरुङ (शाह) ले बिहीबार दिउँसो आफ्नो फेसबुकमा पोस्ट गरेको स्ट्याटस हो यो। स्थायी ठेगाना रुकुमकोट रहेकी उनले १० वर्षभन्दा बढी समयदेखि रन्मा गाउँमा शिक्षणसेवा गर्दै आएकी छिन्। उनको सो स्ट्याटसमा मदन शर्माले कमेन्ट गरेका छन्- 'दुखद् घटना। के यस्ताे जमाना आयो; रूप मात्रै मान्छेकाे, काम भने राक्षसको। पत्ता लगाएर ठूलो कारवाही गर्नुपर्ने हो। कसले गर्ने र खै ! मानिसमा चेतना हराउँदै गयाे।'
'समय पनि कति निष्ठुरी छ है। आज बिहान यो के खबर सुन्नुपरेको। हाम्रो ३ नम्बर वडाको खबरले एकदमै मर्माहत बनाएको छ। बिचरा, यी दुई बहिनीका दाइ धर्मपुत्र बुढा तकको पुथा होटेलमा हामीसँगै बसेको छ। एसईईको परीक्षाको लागि आएका हुन् उनी। तर आज बिहानको उसको बहिनीहरुको खबर उसैलाई थाहा छैन। भनौं पनि कसरी? उसको परीक्षा बिग्रिन्छ भनेर यो कुरा उसको अगाडि गरेका छैनौं अहिलेसम्म त। उसलाई थाहा छैन, र त हाँस्दै छ। रम्दै छ। भोलि थाहा पायो भने उनीमाथि कस्तो ग्रहण पर्छ होला। बिचरा, यी अबाेध बालिकाहरुकाे हत्यारा फेला पर्यो भने त्यसलाई सिधै ... (कडा सजाय) हुनुपर्छ। हाम्राे नेपालमा पनि ... (कडा सजाय) काे सजाय बनाउन जरुरी छ। हार्दिक श्रद्धाञ्जली ! तिमीहरूको आत्माले शान्ति पाओस्। र, हत्यारा छिट्टै पत्ता लागोस्।' काम विशेषले पालिका केन्द्र तकसेरा आएका पुथा उत्तरगंगा २ जुस्मरका धनेशमान घर्ती 'दिनेश' ले बिहीबार साँझ पोस्ट गरेको फेसबुक स्ट्याटस निकै भावोत्तेजक थियो। उनले रीना र कालीमाया बुढा दिदीबहिनीको तस्बिर पोस्ट गर्दै लेखेका थिए। सायद रीना र कालीमाया दिदीबहिनीका दाइ धर्मपुत्रसँग स्मार्ट फोन थिएन। यसैले पनि फेसबुकतिर उनै धर्मपुत्रको पहुँच पुगेन क्यारे !
यसैगरी घटनास्थल रन्मा निवासी जोरण वि.क.को बिहीबार रातिको फेसबुक स्ट्याटसले घटनाको केही हदसम्म उजागर गरेको छ। स्थानीय विद्यालयमा कार्यरत शिक्षक समेत रहेका उनले लेखेका छन्- 'अप्रिय घटना ! यस रुकुमपूर्व जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं ३ निवासी तारामन बुढा र ग्वारी बुढाका छोरीहरू वर्ष ११ की रीना बुढा र वर्ष ९ की कालीमाया बुढा 'कञ्चन' की रन्मा गाउँदेखि तल सेरबाङ भन्ने ठाउँमा मरखाङ्गा (निउरो) टिप्न गएको अवस्थामा हत्या भएको छ। उक्त मृतक बालिकाहरूलाई हत्या भएको ठाउँबाट करिब १ किलोमिटर टाढाको घ्याउँअर्जुं (रातो जुर) भन्ने ठाउँबाट करिब २-३ सय मिटर तल भीरमा फालिएको देखिएकाले मृत अवस्थामा करिब बिहान ५:०० बजेतिर शव फेला परेको छ। उक्त घटनाको अनुसन्धान स्थानीय ३ नं वडावासी लगायत जिल्ला प्रहरी कार्यालयका डीएसपीको टोली लगायत थप अनुसन्धानका लागि हेलिकप्टर मार्फत् कुकुर पनि घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको छ। अहिलेसम्म घटनाको कुनै यकिन भएको छैन।'
यो समाचार लेख्दै गर्दा बखतको १ घण्टा नपुग्दै स्थानीय रन्मा निवासी पृथीछक बुढा फेसबुकमा लेख्छन्- 'हालसम्म दुईजना महिला अनुसन्धानको घेरामा। घेरा कसिलो छ।' यसलाई थप पुष्टि गर्न अघिल्लो राति ३ नम्बर वडाध्यक्ष विजयले छोडेको भ्वाइस म्यासेजले अझ बल पुर्याएको हुनुपर्छ। उनले भनेका थिए- 'शंकास्पद भनिएका दुई महिलालाई वडा नं. ५ गरघाटमा हुकाम प्रहरी चौकीबाट खटिएका टोलीले भर्खरै नियन्त्रणमा लिएको छ।' यतिबेलासम्म राति ८:३० बजिसकेको थियो। सायद उनी गरघाटमा कसैको वाइफाइबाट म्यासेज छोडेका हुन सक्छन्। किनभने, एनटीसी टावरको गडबडीले घटनाको खास सत्यतथ्य बुझ्न महामुश्किल भइरहेको अवस्था छ।
त्यसपछि यस पंक्तिकारको निद्रा खोसियो। कुनै पनि बखत केही न केही टुङ्गो लाग्ने खबर आउनसक्ने भएकाले चनाखो भई जाग्राम बस्न बाध्य हुनुपर्यो।
शुक्रबार झिसमिसे नहुँदै वडाध्यक्ष विजयले कल गरे- 'आधा रातमा रन्मा पुगियो। भएका जानकारी पछि बुझेर दिउँला।' निकै छोटो संवाद भयो।
करिब १ घण्टापछि उनै विजयलाई फोन हानें। संयोगले फोन टिप्यो। उनले तत्कालै जवाफ दिए- 'तालिमप्राप्त कुकुरसहितको पुलिसको विशेष अपरेशन टोली घटनास्थलबाट गाउँ छिरेको छ। पछि कल गर्छु।' टावरले फेरि काम नगरेको हुनुपर्छ, सम्पर्कको कुनै गुन्जायस छैन।
त्यसपछि हर प्रयास गर्दा समेत फोन लाग्न सकेको छैन। सिंगो गाउँपालिकामै टावरले काम नगरेको अवस्था छ। रुकुमकोटस्थित प्रमुख अनुसन्धान अधिकृतलाई सूचना मागियो। उनले भने- 'अहिल्यै केही भन्न सकिने अवस्था छैन। ठोस खबर आएको खण्डमा जानकारी दिउँला।'
प्रतिक्रिया