रीना र कालीमाया हत्या श्रृङ्खला

वडाध्यक्ष विजयका अनुसार घटनास्थलतर्फ हेलिकप्टर उडेको आधा घण्टा पनि भएको छैन।

रीना र कालीमाया हत्या श्रृङ्खला रीना र कालीमाया।

रुकुमपूर्व, २३ चैत ।

बुधबार दिउँसो १२ बजे आसपास रीना र कालीमाया बुढा दुई दिदीबहिनी सिस्नु टिप्न भनी चिकायाबाँ गए। उनीहरुसँग छिमेककै दौंतरी देविका वि.क. पनि थिइन्। देविका केही वर्षले मात्रै जेठी हुन्। स्थानीय आधारभूत विद्यालयमा रीना कक्षा ४ र कालीमाया कक्षा २ मा पढ्ने गर्छन्। देविका वि.क. पनि सोही विद्यालयमै पढ्दथिन्। 

तीनजना चिकायाबाँदेखि मुनिको सेराबाङमा सिस्नु टिप्नतर्फ लागे। दुई घण्टा नपुग्दै देविकाले आफ्नो पविारलाई एक छाक पुग्‍ने सिस्नु टिप्न भ्याए। 'अब भयो, जाऔं' भन्दाखेरी हामी त अर्चाङै टिप्ने हो भन्दै त्यहीं रहे दुई दिदीबहिनी। देविकाका अनुसार खरायोलाई पनि केही हरियो सागसब्जी टिप्नु छ भनेका थिए। देविका एक्लै घरतिर फर्किइन्‌। भनिन्‍छ, उनी घर फर्किंदा ३ बजेको थिएन। 'सँगैका साथीसँगी आई, यिनी दुईजना किन आएनन्' भन्दै बाबुआमा सेराबाङ झरे। सेराबाङ पुग्दा त्यहाँ दुवै दिदीबहिनी देखिएनन्। घरबाट लिन गएकाहरु अत्तालिए। सेराबाङमा कतै भेटिएनन्।

स्थानीय स्वास्थ्यकर्मी मनीष बुढा ‘मन्त्री’ का अनुसार अबेला भइसक्दासम्म पनि नभेटिएपछि छिमेकी र आफन्तजनलाई बोलाइयो। धुइँपड्ताल खोजी गर्दा पनि भेटिएनन्। अन्ततः रात पर्‍यो। बिहान स्थानीय गाउँलेहरु पुनः खोजीतर्फ लागे। अन्ततः उनीहरु भेटिए। तर मृत अवस्‍थामा !

घटनास्थलभन्दा सय मिटर टाढाको घ्याउँ अर्जुंको नजिकै झ्याङमा उत्तानो परेको अवस्थामा कालीमाया भेटिएका हुन्। टाढाबाट मोबाइलले खिचिएको तस्बिरमा कालीमायाको ओठमुख रक्ताम्य परेर लाल परेको देखिन्छ। कालीमायाको लाश वरपर रीनाको खोजी गर्दा भेटिएन। केही समयपछि कालीमायाको लाशदेखि माथिल्लो बाँझको पोथ्रापोथ्री भएको बुट्यानमा रीनाको पनि लाश भेटिएको हो। मोबाइलले खिचिएको तस्‍बिरमा रीनाको मृत शरीर घोप्‍टो परेको देखिन्‍छ।

मुख बुजेर हत्या गरी कान र नाकमा भएका गहना झिकेर हत्‍यारा फरार भएको हुन सक्ने स्थानीयको आशंका छ। घटनाबारे आवश्यक जानकारी बटुल्न भनी रन्माका स्थानीय चिनेजानेकालाई मोबाइलमा कल गर्दा एनटीसी टावरको कमजोरीले फोन लाग्न सकेको छैन।

प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीलाई कल गर्दा आज सदन भएकाले सम्पर्क हुन सकेन। 

‘म भर्खरै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयमा घटनाबारे जानकारी दिएर निस्केकी छु’, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढाले बताइन्– ‘नेपालगञ्जदेखि हेलीको उडान भर्न ताकेता गरेकी छु।’ 

घटनास्‍थलमा बिहीबार बिहानैदेखि ईलाका प्रहरी कार्यालय मैकोटका प्रहरी नायव निरीक्षक जयराज बुढाथोकीको टोली खटिएको छ। 

लुम्बिनी प्रदेशसभा सदस्य सुरुल पुनले उपाध्यक्ष भूपेन्द्रासँगै आवश्यक समन्वय गरिरहेको बताए। उनले भने– ‘गाउँमा फोन लाग्न सकेको छैन। घटनास्थलमा आवश्यक चेकजाँचका लागि प्रहरीको विशेष टोली र कुकुरहरु पठाउने प्रबन्ध भइरहेको छ।’

घटनास्थलतर्फ रुकुमपूर्व जिल्लाका प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठ, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती, प्रहरी निरीक्षक लगायतका उच्च पदस्थ व्यक्तित्व पुगेका छन्। 

वडाध्यक्ष विजयका अनुसार घटनास्थलतर्फ हेलिकप्टर उडेको आधा घण्टा पनि भएको छैन। यो समाचार तयार पार्दासम्‍म साढे ५ बजेको थियो भने पुथा उत्तरगंगाको अधिकांश ठाउँमा फोन लागेको छैन।