लुटेराद्वारा दुई बालिकाको हत्या

तारामान र ग्वारी बुढा दम्पतीको कोखबाट जन्मिएका दुई छोरीहरु रीना र कालीमाया बुढा मृत अवस्थामा भेटिएका हुन्।

लुटेराद्वारा दुई बालिकाको हत्या घटनास्‍थलनजिक शोकविह्वल मुद्रामा मृतकका आमा ग्‍वारी र आफन्‍तजन। तस्‍बिर स्रोत: दयासरी बुढा


रुकुमपूर्व, २३ चैत।

बुधबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ को रन्मा गाउँका एकै घरका दुई बालिकाको हत्या भएको छ। 

गाउँदेखि तल चिकायाँबाँमा सिस्नु र खरायोलाई हरिया झारपात टिप्दै गरेको बेला दुई दिदीबहिनीलाई हत्या गरिएको अवस्थामा भेटिएको हो। तारामान र ग्वारी बुढा दम्पतीको कोखबाट जन्मिएका दुई छोरीहरु रीना र कालीमाया बुढा मृत अवस्थामा भेटिएका हुन्। यिनी दुई बालिका क्रमशः ११ वर्ष र ९ वर्षका हुन्। रीना साइँली हुन् भने कालीमाया कान्छी हुन्। तारामान र ग्वारीबाट चार छोरी र दुई छोरा थिए। 

कानमा लगाइएको सुनको गहना फुकालिएको अवस्थामा शव भेटिएको स्थानीय वडाध्यक्ष बमबहादुर बुढा ‘विजय’ ले बताए। उनका अनुसार सिस्नु र हरिया झारपात टिप्दै गरेको ठाउँबाट करिब १ किलोमिटरको दूरीतफ घिसार्दै लगेर हत्या गरिएको बताइएको छ। उनीहरुले सिस्नु र झारपात टिप्ने गरेको लोम्जा तथा लगाएको चप्पल र मृतकको शवको दूरीको आधारमा यो अनुमान लगाइएको विजयले बताए। स्‍थानीयका अनुसार घ्‍याउँ अर्जुँ  भनिने ठाउँमा पत्ता लागेका शवहरू करिब ५० मिटरको फरकमा भेटिएका हुन्। घटनास्थलको प्रकृति हेर्दा गहना लुट्‍ने लुटेराबाटै हत्या भएको हुन सक्ने स्थानीयको ठम्याइ छ। 

‘सांसद पूर्णबहादुर घर्तीलाई हेलिकप्टरको व्यवस्था गर्न ताकेता गरेका छौं। घटनाको सत्यतथ्य भई अपराधी पत्ता नलाग्दासम्म हामी लाश बुझ्दैनौं’, निकै हतास मनस्‍थितिमा फोनबाट वडाध्यक्ष विजयले भने– ‘दाङबाट हामी अहिल्यै हिँडेका छौं।’ 

बायाँबाट रीना र कालीमाया।

छिमेकी गाउँ मैकोटका भरतकुमार पुनका अनुसार रुकुमकोटबाट डीएसपीसहितको अनुसन्धान टोली घटनास्थलतर्फ लागेको छ। मृतकका पिता तारामानलाई फोनबाट आवश्यक जानकारी लिन प्रयास गर्दा रुवावासी हुँदै गरेको आवाज सुनिएपछि थप जानकारी लिन सकिएन। 

मृतक दिदीबहिनीकी आमा।