काँक्रीमा मानसिक स्‍वास्‍थ्‍य शिविर

जिल्ला स्वास्थ्य कार्यालय र जिल्लाकै तीन स्थानीय तह भूमे, सिस्ने र पुथा उत्तरगंगा गाउँपालिकाको समन्वय र युएमएन रुकुमपूर्व क्लस्टर तथा नेपाल जनजागरण मञ्चको संयुक्त आर्थिक-प्राविधिक सहयोगमा मंगलबारदेखि सञ्चालन भइरहेको शिविरमा जिल्लाका दुर्गम गाउँबाट समेत बाक्‍लो संख्‍यामा सेवाग्राहीहरू आउने गरेका छन्‌।

काँक्रीमा मानसिक स्‍वास्‍थ्‍य शिविर मानसिक स्‍वास्‍थ्‍य शिविरको पहिलो दिन। तस्‍बिर स्रोत : होमप्रकाश श्रेष्‍ठ

रुकुमपूर्व, २२ चैत।

जिल्‍लाको भूमे गाउँपालिका वडा नं. २ काँक्रीस्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको नि:शुल्‍क मानसिक स्वास्थ्य शिविरमा जाँच गर्नेको बाक्लो उपस्थिति देखिएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय र जिल्लाकै तीन स्थानीय तह भूमे, सिस्ने र पुथा उत्तरगंगा गाउँपालिकाको समन्वय र युनाइटेड मिसन टु नेपाल (युएमएन) रुकुमपूर्व क्लस्‍टर तथा नेपाल जनजागरण मञ्चको संयुक्त आर्थिक-प्राविधिक सहयोगमा मंगलबारदेखि संचालन भइरहेको शिविरमा जिल्लाका दुर्गम गाउँबाट समेत बाक्‍लो संख्‍यामा सेवाग्राहीहरू आउने गरेका छन्‌।

मानसिक रोग विशेषज्ञसहितको यो शिविरमा नेपालगञ्जस्थित भेरी अस्पतालका सिनियर कन्सल्ट्यान्ट डा. सुमन अर्याल, मानसिक अस्पताल लगनखेल (ललितपुर) का विशेषज्ञ डा. नवीन देवकोटा, साइकोलोजिस्ट डा. राजेशकुमार झाले सेवा दिइरहेका छन्। शिविरमा मानसिक स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श र निःशुल्क औषधी वितरण लगायतका सेवाको काम भइरहेको छ। 

भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठका अनुसार तीनदिने शिविरमा आएका सेवाग्राहीहरुबाट जाँच गरिएपश्चात् रुकुमपूर्वमा मानसिक बिरामीको ग्राफ अनुमान गरिएभन्दा उच्च रहेको विश्लेषण गरिएको छ।

‘पहिलो दिन मंगलबार १ सय ५१ जनाले नाम दर्ता गरेकोमा १ सयभन्दा बढीले जाँच गरे। बिहीबारसम्म ३ सय जना नाघ्ने सम्भावना छ’ भूमे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले बताए– ‘मानसिक रोगको लक्षण देखिएकाहरु खुल्न लजाउने गरेका छन्। वास्तविक समस्या लुकाउने समेत भएको छ। आएका सेवाग्राहीहरुलाई ती मानसिक रोगबाट पीडित छन् वा छैनन् भन्दै विशेषज्ञबाट आवश्यक सल्लाह र मनोपरामर्श लिने गरिएको छ।’ स्वास्थ्य प्रमुख यादवका अनुसार गाउँगाउँमा रहेका आमा समूह, स्वास्थ्य स्वयंसेविका, जनपद प्रहरी, जनप्रतिनिधि र स्थानीय वासिन्दाबीचको सहजीकरण विना मानसिक रोगीहरुको पहिचान गर्न कठिन छ। यी संयन्त्रको समन्वयले नै मात्र विशेषज्ञहरु मानसिक रोगीहरुको पहुँचमा पुग्न सक्‍ने यादवको तर्क छ।

‘पारिवारिक वा सामाजिक दृष्टिले मानसिक दबाब थेग्न नसकेर मानसिक पीडामा रहेका मानिसहरु बहिष्करणको चरणमा पुगेको समेत दर्दनाक अवस्था छ। त्यस्तो गहन प्रकृतिका बिरामीहरुलाई पनि बचाउन सकिन्छ। मानसिक स्वास्थ्य सेवाग्राहीको मसिनो ढंगले जाँचपड्ताल गरेर स्याहार गर्न सकियो भने तिनीहरुको जीवन बचाउन सकिन्छ’, जिल्ला स्वास्थ्य कार्यालय रुकुमपूर्वका मानसिक स्वास्थ्य फोकल पर्सन श्यामसुन्दर चौधरीले हतारका बीच पनि गहिरिएर भने– ‘मानसिक स्वास्थ्य शिविरले स्थानीय जिल्लावासीलाई राम्रो सन्देश पुगेको छ। पछिल्ला दिनहरुमा अझ सूक्ष्म रुपले मानसिक रोगी पहिचान गर्नमा सहज हुने र ती पीडितहरुलाई मानसिक स्वास्थ्यसम्बद्ध अस्पतालहरुमा सिफारिस गर्न यस शिविरले भूमिका खेल्ने छ।’ चौधरीका अनुसार यस्तो प्रकृतिको विशेषज्ञ सेवा त्यो पनि यस्तो दुर्गम ठाउँमा पाउनु भनेको एउटा विरलै अवसर हो। उनले अनुरोध गर्दै भने– ‘काठमाडौं, चितवन, नेपालगञ्ज, दाङ लगायतका शहरमा पुग्नैपर्ने बाध्यताबाट छुटकारा पाउनका लागि पनि बढी से बढी सदुपयोग गर्न मानसिक स्वास्थ्य समस्या भएकालाई यो शिविरमा आउन-ल्याउन जानकारी गराउँछौं।’

दोश्रो दिन अर्थात् बुधबार साँझसम्म जम्मा २ सय १ जनाले सेवा लिएकामध्ये १ सय १२ जना महिला र ८९ जना पुरुष रहेका छन्। जिल्लामै पहिलोपल्ट आयोजना गरिएको मानसिक स्वास्थ्य शिविर पूर्वसूचना अनुसार बिहीबारसम्म सञ्चालन गरिने बताइएको छ।