पत्रकार महासंघ रुकुमपश्‍चिम कर्णालीकै उत्कृष्ट शाखा

कर्णालीका १० जिल्ला शाखामध्ये कार्यसम्पादनको आधारमा नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो।

पत्रकार महासंघ रुकुमपश्‍चिम कर्णालीकै उत्कृष्ट शाखा उत्कृष्ट शाखाको प्रमाणपत्र प्रदान गर्दै पूर्व-मुख्यमन्त्री महेन्द्रबहादुर शाही।

रुकुम, २२ चैत।

कर्णाली प्रदेशको उत्कृष्ट जिल्ला शाखाको रुपमा नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखा सम्मानित भएको छ।

मंगलबार कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थलको धावनमार्गमै आयोजित नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारणसभाको अवसरमा रुकुमपश्चिम शाखालाई सम्मान गरिएको हो।

कर्णालीका १० जिल्ला शाखामध्ये कार्यसम्पादनको आधारमा नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो।

कार्यक्रममका प्रमुख अतिथि कर्णाली प्रदेशका पूर्व-मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीलाई सम्मानसहित उत्कृष्ट शाखाको प्रमाणपत्र प्रदान गरेका हुन्।  

पूर्व-मुख्यमन्त्री शाहीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जीसी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको विशेष आतिथ्यता रहेको थियो।

पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाको अध्यक्षतामा भएको सोही कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका पत्रकारहरु, स्थानीयवासी लगायतको बाक्‍लो सहभागिता रहेको थियो। कार्यक्रममा स्‍थानीय लोक झाँकीहरु समेत प्रस्‍तुत गरिएको थियो। 

संवत् २०३३ सालमा निर्माण सम्‍पन्‍न भएको सुनथराली विमानस्‍थलको इतिहासमा जम्‍मा एक दिन मात्र उडान भरेको रेकर्ड छ।

'आउँदो वैशाख १ गते राष्‍ट्रिय ध्‍वजावाहक नेपाल एयरलाइन्‍समार्फत् उडान भरेर सुनथराली विमानस्‍थलको पुन:सुचारु गरिने भएको छ', पत्रकार महासंघ रुकुमपश्‍चिम शाखाका अध्‍यक्ष लक्ष्‍मण केसीले बताए- 'विमानस्‍थललाई सुचारु गर्ने गरी संघीय र प्रदेश सरकारलाई दबाब दिनका लागि पनि सदरमुकामदेखि टाढा रहेको नरहरिनाथ गाउँपालिकाको पनि यस विमानस्‍थलको धावनमार्गमै कार्यक्रम आयोजना गरिएको हो।'