प्राइममिनिस्टर थ्री नेशन्स कपको उपाधि नेपाललाई
शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा लाओसलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि चुमेको हो।
काठमाडौं, १७ चैत।
नेपालले लाओसलाई पराजित गर्दै प्राइममिनिस्टर थ्री नेशन्स कपको उपाधि हात पारेको छ। शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा लाओसलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि चुमेको हो।
नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गरे। खेलको पहिलो हाफमा लाओसले अग्रता लिएको थियो। खेलको १७ औं मिनेटमा लाओसका तर्फबाट फौथाभोङ साङभिलेको गोलबाट लाओसले अग्रता लिएको थियो। ७ मिनेटपछि अर्थात् खेलको २४ मिनेटमा नेपालका तर्फबाट आयुषले गोल गरे। उनलाई एरिक विष्टले डी बक्समा पास मिलाएका थिए। खेल सकिन ३ मिनेट बाँकी छँदा नेपालले खेलमा अग्रता लिन सफल भयो। नेपालका लागि मनिषले डी बक्सबाट उत्कृष्ट फिनिशङ गरे।
नेपाल र लाओससहित भुटान सहभागी प्रतियोगिताको लिग चरणमा नेपाल शीर्ष स्थानमा र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए। लिग चरणमा नेपालले पहिलो खेलमा लाओसलाई २-० गोलले हराएको थियो। नेपालले दोस्रो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो। त्यसअघि भुटानलाई लाओसले २-१ गोलले हराएको थियो।
प्रतिक्रिया