गाउँपालिका कार्यालयले लोकसेवा फारम भरिदिने

पुथा उत्तरगंगा गाउँपालिकाले लोक सेवा भिड्न इच्छुक स्थानीय युवालाई लक्षित गरी गाउँ कार्यपालिकाको कार्यालयमै लोक सेवा आयोगको विज्ञापनको दरखास्त फारम भर्न सहजीकरण गर्ने भएको छ।

गाउँपालिका कार्यालयले लोकसेवा फारम भरिदिने वडा नं. १० स्‍थित तक गाउँ।

रुकुमपूर्व, १५ चैत।

अनलाइन फारम भन्ने बित्तिकै हाम्रो दिमागमा सबैभन्दा पहिले स्मार्ट फोनको झल्को आउँछ। त्यसपछि बल्ल कम्प्युटर सम्झिन्छौं। डिजिटल प्रविधिले हाम्रो परम्परागत सोच र विधि पद्धतिलाई विस्थापित गरेको छ। यस्तो प्रविधिको प्रयोगले हाम्रो जीवनलाई चुस्त दुरुस्त बनाएको पनि छ।

तर नेपालको कतिपय भूभागमा अझै पनि सूचना तथा संचारको गतिलो पहुँच नपुग्दा आजका पढालेखा युवापिँढी घरमै खुम्चिन बाध्य छन्। मोबाइल हातमा छ, तर प्रभावकारी सञ्चार छैन। मोबाइल र सञ्चार सुविधा छ, तर त्यसको उपयोग गर्ने सामान्य ज्ञान समेत थाहा छैन। त्यही भएर ग्रामीण युवा जनशक्ति अवसरबाट बञ्चित मात्र छैनन्, सिंगो भूगोल र समाज नै पिछडिनुपरेको कटु यथार्थ छ।

यसै तीतो यथार्थलाई मध्यनजर राख्दै पुथा उत्तरगंगा गाउँपालिकाले लोक सेवा भिड्‍न इच्छुक स्थानीय युवालाई लक्षित गरी गाउँ कार्यपालिकाको कार्यालयमै लोक सेवा आयोगको विज्ञापनको दरखास्त फारम भर्न सहजीकरण गर्ने भएको छ। ‘पुथा उत्तरगंगा गाउँपालिका लुम्बिनी प्रदेशकै भौगोेलिक विकटता भएको एक स्थानीय तह हो’ भन्ने भूमिका बाँध्दै बुधबार एक सूचना प्रकाशन गरिएको हो। प्रकाशित सूचनाको व्यहोरा अनुसार गएको फागुन २५ गतेका दिन लोक सेवा आयोगले खुलाएको खरिदार वा सो सरहको पदको लागि चैत २१ गतेसम्म र विलम्व दस्तुर तिर्नेले थप ७ दिनभित्रको म्याद अवधिको विज्ञापनमा दरखास्त दिन चाहने इच्छुक निवेदकहरुलाई गाउँपालिकाबाट अनलाइन फारम भर्नका लागि आवश्यक सहजीकरण गरिदिने जनाएको छ।
 
‘भौगोलिक विकटताकै कारण यहाँ बसोबास गर्ने समुदायहरु नेटवर्कको समस्याले लोक सेवा आयोगले दरखास्त गर्ने विभिन्न खालका विज्ञापनहरुमा अनलाइन फारम भर्न निकै कठिन हुने गरेको पाइएकाले यसै कठिनाइलाई मध्यनजर गर्दै’ भन्ने व्यहोराको पुष्ट्याइँलाई आधार बनाउँदै लोक सेवा आयोगको विज्ञापनमा अनलाइन दरखास्त भर्ने सहजीकरण गर्नु परेको प्रकाशित सूचनाको आशय भएको प्रमुख प्रशासकीय अधिकृत राजन कँडेलले बताए।

‘स्थानीय जनशक्ति नहुँदा गाउँपालिकाले आन्तरिक रुपमै अनेकन प्रशासनिक र कानुनी अड्चनहरु व्यहोर्नु परिरहेको छ’, गाउँपालिका अध्यक्ष पुनीराज घर्तीको कथन छ– ‘सबल स्थानीय तह बन्नका लागि कमसेकम प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, इन्जिनियर लगायतका कर्मचारी स्थानीय माटोमा जन्मे हुर्केको जनशक्ति भए सुनमा सुगन्ध हुने हो। तर यहाँ कार्यालय सहयोगीहरु समेत पालिकाबाटै करार नियुक्ति पाएका कर्मचारी छन्। कार्यालय सहायक त माथिल्लो पोष्ट नै भयो।’ 

मुलुकमै सबैभन्दा बढी वडा भएको भनिएको पुथा उत्तरगंगा गाउँपालिकामा लोक सेवा आयोगको सिफारिसमा अप्राविधिकतर्फ स्थायी बनेका स्थानीय निजामती कर्मचारीको संख्या शून्य छ। अध्यक्ष घर्तीले मन्द सास फेर्दै भने– ‘प्राविधिकतर्फ स्वास्थ्य र कृषि शाखामा खरिदार तहमा एक-दुई जना स्थानीय निजामती कर्मचारी त छन् है भनेर चित्त बुझाउनुपर्ने स्थिति छ’, उनले थपे– ‘यसले पनि यो गाउँपालिका धेरै पिछडिएको हो कि भन्ने भान बाहिरका मान्छेलाई हुनु कुनै अनौठो होइन।’

७४ साल भदौ २५ मा पारित भएको स्थानीय तह सञ्चालनसम्बन्धी विधेयकमा जिल्लाहरुको वर्गीकरण गर्दा रुकुमपूर्वलाई हिमाली जिल्लामा सूचिकृत गरिएको थियो। जिल्लामा अवस्थित जम्मा तीन स्थानीय तहमध्ये सबैभन्दा ठूलो हिमाली भेग ओगटेको गाउँपालिका पुथा उत्तरगंगा हो। पुथा उत्तरगंगा गाउँपालिका नेपाल सरकारले घोषणा गरेको अतिविपन्न स्थानीय तहमा समेत सूचिकृत छ।


सूचनाको लिखित व्यहोराको अन्तिम लहर छ– ‘इच्छुक निवेदककर्ताले देहायका कागजातसहित यस गाउँपालिकामा स्वयं उपस्थित हुनुहुन समेत जानकारीका लागि अनुरोध छ।’ यसबारे जवाफ माग्दा प्रशासकीय अधिकृत कँडेलले बताए– ‘ईमेल, भाइबर तथा मेसेन्जरबाटै पनि सफ्ट कपी लिन सकिन्थ्यो। तर, औंठा छापका कारण  सशरीर उपस्‍थित हुनुपर्ने गरी यस्तो व्‍यहोरा उल्लेख गर्नुपरेको हो।’

‘प्रशासन, लेखादेखि लिएर गाउँपालिकाका विभिन्न शाखाहरुमा सयभन्दा बढी कर्मचारीको आवश्यकता छ। स्थानीयपनको दृष्टिले हेर्दा ती सबैमा स्थानीय जनशक्ति फुलफिल त नभनौं आधाआधी मात्रै ओगट्‍ने हो भने पनि हाम्रो यो पालिका धेरै सशक्त हुने हो’– अध्यक्ष घर्तीले भोलिको दिनको अनुमान समेत लगाए– ‘गम्भीर र सचेत ढंगले अहिल्यै कदम चालिएन भने पालिकालाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सय वर्षै लाग्छ। हामीले छिटो नै प्रगति गरेको खण्डमा पनि बीस/तीस वर्ष त लाग्छ नै !’