'नेवारहरूको आदिम थलो काठमाडौं'
वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य संघर्ष गरेको थियो।
विश्व नेवार दिवसको उपलक्ष्यमा आयोजित यस कार्यक्रममा सहभागी हुने मौका दिनुभएकोमा नेवार समुदायका तपाईं सबै आदरणीय महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। वर्ल्ड नेवार अर्गनाइजेशनद्वारा आयोजित यस विश्व नेवार दिवसको उपलक्ष्यमा भइरहेको कार्यक्रमको सफलता र भव्यताका लागि शुभकामना व्यक्त गर्दछु।
नेपाल राष्ट्र निर्माणमा नेवार पुर्खाहरूको मुख्य र ऐतिहासिक भूमिका रहेको यथार्थ हाम्रोसामु छर्लङ्गै छ। नेपाललाई स्वाधीन राष्ट्रको रूपमा विश्वसामु चिनाउन नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, डबली, हिटी, देवालय लगायतका सम्पदाहरू, ती सम्पदासँग जोडिएका जात्रा, पर्व, साहित्य, संगीत, सांस्कृतिक परम्पराहरू र यी सांस्कृतिक परम्परासँग जोडिएका खानपिन, भेषभूषा, सभ्य शहर र जीवनलाई चलायमान गर्ने नेवाः दर्शनमा आधारित जीवन व्यवहारहरू र यसबाट पैदा हुने राष्ट्रिय एकताको भावनाको ठूलो योगदान रहँदै आएको कुरा स्मरण गर्दछु।
विश्वमै नगर सभ्यता शुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि हो। आज हामीले विश्व नेवार दिवस मनाइरहँदा ती नेवार अग्रजहरूप्रति सम्मान व्यक्त गर्नै पर्दछ। नेवारहरूको आदिम थलो यही काठमाडौं उपत्यका हो। तर आज देशका प्रायः सबै स्थानमा नेवार समुदायको बसोबास पाइन्छ। नेपालका प्रायः सबै मुख्य शहरहरू काठमाडौं उपत्यकाबाट विभिन्न कालखण्डमा विभिन्न कारणले बसाइँ सरेर गएका नेवारहरूले नै बसालेको पाइन्छ। आज भूमण्डलीकरणको जमाना छ। यसै क्रममा विश्वका कुनै पनि देशमा जाने हो भने त्यहाँ नेवार समुदायका कोही न कोहीसँग भेटघाट हुने अवस्था छ। नेवार समुदायको एउटा विशेषताको हामी सबैले सम्मान गर्नै पर्दछ। त्यो भनेको नेवारहरु जहाँ जसरी बसे पनि नेवारी संस्कृति र पहिचानलाई सामूहिकतामा मनाउँदै निरन्तरता दिने विशेषता हो। एकातर्फ यसले नेपालका अरू समुदायलाई प्रेरणा दिइरहेको छ भने अर्कोतर्फ विदेशमा नेपालको पहिचान, स्वाभिमान र गौरव बढाउने काम भइरहेको छ। यही परिप्रेक्ष्यमा विश्वभरि छरिएर रहेका नेवारहरूबीच सहकार्य समन्वय गर्न वर्ल्ड नेवार अर्गनाइजेशन गठन गर्नु गौरवको कुरा हो। यस संगठनको स्थापना भएको दिनलाई नेपालमा भइरहेझैं विश्वभरका विभिन्न शहरहरूमा नेवा: दिवसको रुपमा मनाइरहेका छन्। साथै विश्वका कैयौं शहरहरूमा नेपालबाट गएका नेपाली समुदाय सहभागी भएर यो दिवस मनाइरहेका छन्। त्यसैले ती देशहरूमा यो नेवार दिवस मात्र नभएर नेपाल दिवस बन्दै गएको अनुभूति गर्न सकिन्छ।
चितवन र अन्य कतिपय स्थानमा जानैपर्ने भए पनि तपाईहरूको कार्यक्रमलाई महत्व दिएर म उपस्थित भएको छु। यहाँ नेवारको इतिहास र संस्कृतिको अध्ययन एवं अनुसन्धानसँग सम्बन्धित धेरै बौद्धिक महानुभावहरू हुनुहुन्छ। मैले यहाँ श्रद्धेय दुर्गालाल श्रेष्ठ दाइ लगायत थुप्रै अग्रजहरू देखिरहेको छु। उहाँहरूको परिचय केबल नेवार भाषा र नेवार जाति मात्र होइन। उहाँहरू नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका जिउँदा दस्तावेजहरू हुनुहुन्छ। यसका लागि आयोजक मित्रहरूलाई धन्यवाद टक्रयाउँदछु।
नेपाली जनताको त्याग र वलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ। यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य संघर्ष गरेको थियो। जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो। इमान्दार र निरन्तर संगठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन्। तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरूरी छ।
अन्त्यमा, विश्व नेवार दिवसको उपलक्ष्यमा यसै मञ्चबाट विश्वका विभिन्न ठाउँमा छरिएर रहनुभएका नेवारहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। पहिचान र अधिकारको क्षेत्रमा तपाईंहरूले उठाउनुभएका माग र मुद्दाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै बिदा हुन्छु।
धन्यवाद !
(शनिबार काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डद्वारा सम्बोधित मन्तव्यको पूर्ण पाठ।)
प्रतिक्रिया