जालकी – खबरको शिखर

मिडिया भनेको नै वास्तवमा आवाजविहीनहरुको आवाजको प्रतिनिधित्व गर्ने आधारभूत दायित्व बोकेको कर्मपथ हो।

जालकी – खबरको शिखर मैकोट रुकुमपूर्वका दुई किशोरी।

‘तिमीले जानेको विषय साँच्चिकै रुचिकर हुन सक्छ भने मात्रै लेख।’ संयोगले बेलायती उपन्‍यासकार सलमान रुस्दीको उपरोक्त भनाइसँग मेल खाएरै पनि हुनसक्छ, यो पंक्तिकार मिडियाकर्ममा आबद्ध भएको हो। समाज छ र त खबर पनि छ। व्यक्ति र ऊ आबद्ध समाज नै खबरको स्रोत हो। समाजका हरेक घटना-परिघटना सबै लेखनयोग्य छ, प्रस्तुतयोग्य छ। प्राथमिकता आफूले कसलाई दिने र कसरी प्रस्तुत गर्ने भन्नेमा निर्भर रहन्छ। 

 
मिडिया भनेको नै वास्तवमा आवाजविहीनहरुको आवाजको प्रतिनिधित्व गर्ने आधारभूत दायित्व बोकेको कर्मपथ हो। मिडियाले नागरिक हितको पहरेदारी मात्र गर्दैन, थप सशक्त पनि पार्छ। किनभने, मिडियाले नागरिकलाई उनीहरुका हक अधिकारप्रति सचेत गराउनुका साथै दायित्व समेत बोध गराउन दिशानिर्देशको भूमिका निर्वाह गर्दछ। सामाजिक न्याय र समानताका लागि उठेका र उठ्नुपर्ने मुद्दाहरुलाई स्थान दिन्छ। राष्ट्रिय हितको लागि शान्ति, समझदारी र सहमतिको निर्माणमा योगदान गर्छ। वैचारिक विविधता र बहुलवादी समाजको यथार्थलाई वास्ता गर्दै तिनको मर्म बोल्छ। भनिन्छ– मिडिया भनेको सूचना र विचारको साझा मञ्च हो।


वास्तवमा मिडियाको विगत सानदार छ, वर्तमान सशक्त छ र सम्भावना आशालाग्दो छ। यस्तो गर्विलो प्रकृति बोकेको हाम्रो मिडिया कमजोर भएको खण्डमा स्वाभाविक रुपमा लोकतन्त्र बलियो हुँदैन, अझ कमजोर पो बन्न पुग्छ। यस्तो त्रुटि भएपश्चात् लोकतन्त्र बुख्याँचा बन्न पुग्छ। परिणामस्वरुप लोकतन्त्रको आवरणमा सुशासनलाई कुशासनले ङ्याक्छ। विश्वका कतिपय राष्ट्र राज्य सञ्चालनमा निष्फल भएको यसैको उदाहरण हो। यसैले पनि मिडियालाई राज्यको चौथो अंग मानिएको हो। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका यी ३ अंगको वाचडग नै मिडिया हो। 


आजको डिजिटल युगले सूचना प्रविधिको विकासमा ल्याएको फड्कोले सोसल मिडियाको क्षेत्रमा बाढी नै ल्याएको छ। फलस्वरुप करिब करिब ‘वन म्यान - वन मिडिया’ को कन्सेप्ट आइसकेको छ। सोसल मिडियाले मास मिडियालाई चुनौति दिइरहेको आजको सन्दर्भमा मास मिडियातर्फ जोडिन पाउँदा आफूलाई नवीन ऊर्जा मिलेको छ। हामीले गर्ने मास मिडियाको कर्ममा अब विश्वसनीयता कायम राख्नु नै आफ्नो सफलता हुनेछ। मास मिडियामा पस्किइने उही खान्कीको आइटमलाई फरक फ्लेभर दिन सकिएछ भने त्यसले नै सफलताको उचाइ नाप्ने छ। 

 

माथि तस्बिरमा प्रसन्न मुद्रामा रहेका दुई किशोरी र एक किसान जस्तै आमसञ्चार अर्थात् मास मिडियामार्फत् खुशी, आत्मविश्वास र आत्मगौरवको भाव सञ्चार गर्ने लक्ष्यको नजिक पुग्दा मात्र पनि हाम्रो सपना साकार भएको मानिने छ। अनुशासित, सभ्य, सुसंस्कृत र खुशी समाज निर्माणको सिलसिलामा जालकी मिडियाले सकारात्मक भावहरु मात्र पनि तरंगित पार्न सक्यो भने त्यो नै हाम्रो शिखर हुने छ। त्यही शिखरले जालकीलाई साक्षी राख्दै शुभसन्देशहरु चौतर्फी फिँजाउन मदत पुर्‍याओस्। राज्यलाई अझ फरक ढंगले सेवा गर्ने मौका हामीलाई मिलोस्। अनि मात्र हाम्रो स्लोगानले खास अर्थ खुट्याएको मानिने छ— ‘जालकी – खबरको शिखर’ !