अस्ताइन् स्वरकी देवी !

ताम्राकार पछिल्लो समय चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय थिइन्।

अस्ताइन् स्वरकी देवी ! यौवन उमेरमा कृष्णा ताम्राकार। तस्बिर स्रोत : सुनील उलक

काठमाडौं, १० चैत ।

रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचारवाचिका वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ। ८६ वर्षीया ताम्राकारको निमोनियाको उपचारका सिलसिलामा बिहीबार राति निधन भएको हो।

काभ्रेको बनेपामा जन्मिएकी ताम्राकार नेपाली भाषालाई औधी माया गर्दथिन्। वि.सं. २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै ‘नासो’, ‘हाम्रो देशको माटो’, ‘हाम्रो वन - हाम्रो जीवन’ लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन्। ‘वातावरण’ कार्यक्रम चलाएवापत् उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत 'ग्लोबल फाइभ हन्‍ड्रेड रोल अफ अनर' अवार्ड पाएकी थिइन्।

रोयल नेपाल एयरलाइन्स (शाही नेपाल वायुसेवा निगम) जस्तो तत्कालीन समयको सबैभन्दा आकर्षक जागिर एयर होस्‍टेजमा मासिक रु. १७५ को तलब छाड्‍दै मासिक रु. १२५ मा झरेर रेडियो नेपालको हिन्दी सेवाको जागिरमा लागेकी थिइन्। त्यसपछि उनी रेडियो नेपालकी स्‍थायी जागिरे भएकी हुन्। 

'मैले घमण्ड गरी भनेको होइन। जतिन्‍जेल समाचार पढें, शुद्ध पढें। एकदम शुद्ध पढें। र्‍हस्वलाई र्‍हस्व, दीर्घलाई दीर्घ। तीन्‍ता 'स' को छुट्टाछुट्टै उच्‍चारण ! अहिलेको न्युज रीडरमा त्यो हैसियत चाहिं देखिन मैले, कसैको पनि !', काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा धक फुकाएरै नेपाली भाषाको महत्‍वलाई उजिल्‍याएर भनेकी थिइन्- 'नेपालीको पनि आफ्नो महत्ता छ। नेपाली पनि त एउटा भाषा हो नि ! राम्ररी बोल्न सकियो भने त्यसको इज्जत बढ्छ। मैंले चाहिं त्यो इज्जत पढाएँ जस्तो लाग्छ।' उनी प्रष्ट, सशक्त र निडर वक्ता थिइन्। 

ताम्राकार पछिल्लो समय चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय रहेकी थिइन्। उनको निधनमा विभिन्‍न व्‍यक्तित्‍वले सामाजिक सन्‍जालमा श्रद्धा पोखेका छन्।

'कृष्णा ताम्राकारज्यू राष्ट्रिय आविष्कार केन्द्रको ठूलो शुभेच्‍छुक हुनुहुन्थ्यो', वैज्ञानिक महावीर पुनले लेखेका छन्। नवप्रवर्तनमा ताम्राकारको विशेष चासो थियो भन्ने पुनको आशय हो।

टेलिभिजन प्रस्‍तोता टीकाराम यात्राी लेख्छन्- '"यो रेडियो नेपाल हो। अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्।", - रेडियो नेपालबाट प्रसारण हुने यो सशक्त ध्वनि अब स्मरणमा मात्र ! भाषा, शिल्पी र उच्चारणमा स्पष्टताको मानक नै हुनुहुन्थ्यो उहाँ।'

'८० वर्ष काटिसक्दा पनि उहाँको त्यो ऊर्जा, आवाजको ओज र सक्रियता असाधारण थियो', रवीन्द्र मिश्रले लेखेका छन्- '"यो रेडियो नेपाल हो। अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्" सँग तुलना हुने आवाज सहजै पाईँदैन !'

'स्वरले नै दुनियाँ जितेकी एउटी देवी सधैँका लागि र सबैका लागि अस्ताइछन्। आवाजको दुनियाँको एउटा चम्किलो तारा थाहै नपाई ओइलाएर झरेछ', नियात्रााकार प्रतीक ढकालले भावुक हुँदै लेखेका छन्- 'के भनौं के बोलौं, कुनै शब्द नै छैन। माैन माैन र आँसु भरिएका आँखाले यति मात्र भन्ने सामर्थ्य राखेका छन् दिदी, कि तपाईंको आत्मालाई चीरशान्ति मिलोस् ! तपाईंको वैकुण्ठ वास होस् ! मिल्छ भने स्वर्गमा पनि सञ्चारकर्मकै जिम्मेवारी मिलोस्।'