जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक

कुल जनसंख्‍यामा पुरुषको ४८ दशमलव ९८ र महिलाको ५१ दशमलव ०२ प्रतिशत रहेको छ।

जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक नतिजा पुस्‍तक सार्वजनिक गर्दै प्रधानमन्‍त्री पुष्‍पकमल दाहाल।

काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा आज सार्वजनिक गरिएको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को नतिजा पुस्‍तक सार्वजनिक गरेका हुन्।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ छ। यसरी कुल जनसंख्‍यामा पुरुषको ४८ दशमलव ९८ र महिलाको ५१ दशमलव ०२ प्रतिशत रहेको छ। जसअनुसार लैङ्गिक अनुपात अर्थात्‌ प्रति १ सय जना महिलामा पुरुषको संख्या ९५ दशमलव ५९ जना रहेको छ।

जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ० दशमलव ९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १ दशमलव ३५ प्रतिशत प्रतिवर्ष थियो। जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्‍तपुर ३ दशमलव ३५ प्रतिशत र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप १ दशमलव ६७ प्रतिशत रहेका छन्।

तस्‍बिर स्रोत : प्रदीपराज वन्त /रासस