जालकी : एक सांस्कृतिक सम्पदा

वाग्‍मती, गण्डकी र लुम्बिनी प्रदेशमा जालकी भन्ने गरिन्छ भने कतिपय ठाउँमा जलाकी पनि भनिन्छ। भूमे पर्व मनाउने समाजमा यसलाई पन्थ्यौली पनि भन्ने गरिएको छ भने बौद्ध परम्परामा छोर्तेन भन्‍दछन्। रुकुमपूर्वको उत्तरी वस्‍ती रन्मा गाउँका स्थानीय वासिन्दा‍ले भकारी भन्दछन्।

जालकी : एक सांस्कृतिक सम्पदा सुन्‍दह र चौंरीखर्क लेकको बीच बाटोमा पर्ने एक भञ्ज्याङमा अवस्‍थित जालकी।

कुनै पनि व्यक्ति जिउँदो छँदै उसले आफ्नो रहरले जालकी बनाउने गर्दछ। मान्छेको जीवन सदा एकनाशको हुँदैन। ऊ किशोर हुन्छ, युवा हुन्छ, वयस्क हुन्छ, बूढो हुन्छ। बलबुताले भ्याएसम्म हिँड्डुल गर्छ। मृत्युवरण नगर्दै कुनै न कुनै चिनो छाड्ने रहर त हर मान्छेलाई हुन्छ नै। यसैको सर्वोत्तम विकल्पको रुपमा ‘जालकी’ निर्माण गर्ने चलन बसेको हो। निर्जन भूभागको कनै उच्च स्थानमा मठको शैलीमा जालकी बनाइएका हुन्छन्। यो विशेषतः उच्च पहाडी तथा हिमाली भेगमा बनाइन्छ। शिखर र प्यागोडा शैलीको संयोजन जालकी हो। यसको निर्माण पूर्णतया ढुङ्गाले हो। 

जालकी भनेको चिनो वा चिनारी हो। लेकाली भूभागका उच्च ठाउँ अर्थात् धूरी (थुम्को) र भञ्ज्याङमा यो बनाइन्छ। ताकि, टाढाटाढाबाट यो सहजै देख्न सकियोस्। झलक्क देखिएपछि ठाउँको सहजै पहिचान हुन्छ। आफूले तय गर्नुपर्ने बाटोको भेउ पत्ता लाग्‍छ। यसकारण जालकीको शाब्दिक अर्थ झलक हो। टाढाको भौगोलिक दूरीबाट यसलाई झलक्क देखियोस् भनी जालकीको निर्माण गरिएको हो। जालकीहरु अधिकांश २५ सयदेखि माथिल्लो उचाइका भूभागको पनि उच्च तहको थुम्कोमा बनाइन्छ। मूल बाटो पर्ने लेकाली भञ्ज्याङका माथिल्‍लो सिरानमा पनि यसको निर्माण गरिन्छ।

झलक अपभ्रंश भई जलक हुन गएको मानिन्छ। जलकबाटै विशेषण नाम जालकी रहन गएको आमबुझाइ छ। कतिपयले यसलाई देउरालीको रुपमा पनि पुज्दछन्। यसर्थ, जालकी आफैंमा चोखो र पवित्र छ।

जालकीको दर्शन गर्दै एक पदयात्री।

जालकी आफ्नो पछिल्लो पुस्तालाई भौतिक चिनोको रुपमा छाडिएको अर्थ पनि लाग्छ। आफू बितेर गएपनि पछिल्लो पुस्ताले जालकीलाई देखेर आफूलाई सम्झिऊन् भन्ने अभिलाषा राखिएको हुन्छ। जालकी निर्माण गर्नेहरु प्रायशः भेडीगोठाला, गाईगोठाला र घोडागोठाला नै हुन्। यसमा उमेरको कुनै हदबन्दी हुँदैन। प्रायशः जालकीहरु व्यक्तिविशेषमा निहित हुन्छन्। वसन्त, ग्रीष्म, वर्षात् र शरदको सिजनमा जडिबुटी संकलन गर्न लेकतिर उक्लिने युवायुवती, प्रौढ र वयोवृद्धहरु मिलेर पनि आफ्नै जीवनकालमा सितिमिति नआइने यो निर्जन लेकाली भेगमा जालकी निर्माण गर्छन्। निज ज्युँदो व्यक्तिको प्रतिविम्बको रुपमा जालकी बनाइन्छ। जसको नाममा जालकी बनाइन्छ, उसैले लागेको खाइखर्ची व्यहोर्नुपर्छ। यसमा कुनै पारिश्रमिक तोकिएको हुँदैन। गोठाला वा जडिबुटी संकलनका क्रममा लेक उक्लिँदा फेरि यी ठाउँमा आउन सकिएला नसकिएला भन्दै भावात्मक रुपले बहकिएर जालकी बनाउने गरिन्छ। यो बेला स्वतस्फूर्त भावनात्मक सम्बन्ध उर्लिन्छ, अनि सँगैका साथीसङ्गीले श्रमसहयोग गर्दछन्, बलबुताले भ्याएसम्म आकर्षक बनाउँदछन्। यसको निर्माणका बखत निकै रमाइलो गर्दछन्, जीवनको सबैभन्दा अविष्मरणीय क्षणको रुपमा। कतिपय ठाउँमा साथीसँगी बीच साझामै जालकी निर्माण गर्दछन्।

जालकी ऐतिहासिक, सांस्कृतिक, सामाजिक र पुरातात्विक दृष्टिले एक मूर्त सम्पदा हो। आजको युगमा यसको महत्व झन् ज्यादा छ। अघिल्ला पुस्ताले बनाएको जालकीलाई पछिल्लो पुस्ताका सन्ततिले दिवंगत पितृको विम्बको रुपमा पुज्दछन्। तसर्थ, यो एक सामाजिक र ऐतिहासिक धरोहर हो, स्मारक हो। जालकी मुख्यतः गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा बनाइन्छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा जालकी भन्ने गरिन्छ भने कतिपय ठाउँमा जलाकी पनि भनिन्छ। भूमे पर्व मनाउने समाजमा यसलाई पन्थ्यौली भन्ने गरिएको छ भने बौद्ध परम्परामा छोर्तेन भनिन्छ। रुकुमपूर्वको उत्तरी वस्ती रन्मा गाउँका स्थानीय बासिन्दाले जालकीलाई भकारी पनि भन्दछन्। जालकी बारे पछिल्ला दिनहरुमा विस्तृत खोज र अध्ययन गरिने छ।
 
निर्जन बुकी पाटनमा पुग्ने नवागन्तुक मान्छेका लागि जालकी एक कोसेढुङ्गा हो। अर्थात् माइलस्टोन हो। उच्च हिमाली भेगमा कुनै काम विशेषले पुग्नेहरु यसलाई चिनोको रुपमा मनाउँदै बाटो ठम्याउँदछन्। यसले एक प्रकारको दिशाबोधको काम गर्छ। जालकी निर्माण भएको ठाउँ पुग्दा आनन्दको सुस्केरा हाल्छन्। जीवनको उच्चतम् मुक्तिको महसुस गर्दछन्। किनकि, जालकी चोखो ठाउँमा बनाइएको हुन्छ, अघिल्लो पुस्ताले बनाएको ऐतिहासिक चिनोको रुपमा मायाभाव दर्शाउँदै धूप, अछेता, लेकाली वनस्पति, बुकीफूल, पाती, ध्वजा चढाएर पितृको स्मरण गर्दै पुज्दछन्। जीवनको एक उन्मुक्ति र खुशीको आँशु झार्दछन्। प्रकृतिसँग रमाएको, प्रकृतिसँगै लुकामारी खेलेको, प्रकृतिसगै दु:खदर्द साटेको क्षणको साक्षीको रुपमा जालकीसँग आत्मियता साट्दछन्। आत्‍माले विश्राम पाएको आभास हुन्‍छ।

प्रकृति जस्तो सुन्दर सृष्टि यो ब्रहमाण्डमा अरु हुन सक्दैन। यसैले पनि जालकीको निर्माण आफैंमा प्रकृतिमैत्री हो। र, प्रकृतिमैत्री छ। यसर्थ, जालकी नेपालको एक सांस्कृतिक सम्पदा हो।