‘खेलाडीले वैकल्पिक बाटो रोज्नुपर्ने अवस्था छ’
खेल जतिसुकै व्यावसायिक बन्दै गएता पनि खेल भनेको वास्तवमा फुर्सदको बेलामा गर्ने हो भन्ने एकप्रकारको मानसिकता आज समाजमा व्याप्त छ।
अध्यक्षज्यू, मञ्चमा आसीन लुम्बिनी प्रदेशसभाका माननीय सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, सबै गाउँपालिकाका अध्यक्ष-उपाध्यक्षज्यूहरू, निवर्तमान अध्यक्ष-उपाध्यक्षज्यूहरू, जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुखज्यू, विभिन्न तहका राजनीतिक दलका नेतागणहरू, आयोजक समितिका सम्पूर्ण साथीहरू, खेलमा सहभागी सबै विद्यालयका अगुवाइ गर्ने सरहरू, विद्यार्थी भाइबहिनीहरू, पत्रकार साथीहरू लगायत कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरू !
चौथो जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड पनि सुरुवात हुँदैछ। त्यसको हामीले उद्घाटन गरिसकेका छौं। संघीयता कार्यान्वयनको दोश्रो कार्यकालमा राष्ट्रपतिको आसन्न निर्वाचनको पनि नजिकै हामी आएका छौं। संयोगवस्, हामीले जिल्लामा चौथो राष्ट्रपति रनिङ शिल्ड पनि सुरुवात गरिराखेका छौं।
म सुरुमै यो कार्यक्रमको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। संघीयता कार्यान्वयनको दोश्रो कार्यकालको गएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित भइसकेपछि मैंले प्रतिनिधिसभा सदस्यको रूपमा प्रतिनिधिसभामा शपथग्रहण गरेको ६९ औं दिनमा पहिलोपटक जिल्लामा तपाईंहरू समक्ष उपस्थित भएको छु। विशेषतः आजको यस कार्यक्रमको माध्यमबाट मलाई मतदानद्वारा विजय गराउने तकसेरावासी जनसमुदाय तथा रुकुमपूर्वका सम्पूर्ण आदरणीय जनसमुदायहरूलाई यो कार्यक्रमको माध्यमबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
'खेल' भन्ने बित्तिकै स्वाभाविक रूपमा हाम्रो स्वस्थ जीवनसँग, अनुशासनसँग, राष्ट्र निर्माणसँग जोडिएको कुरा हुन्छ। यसले स्वाभाविक रूपमा हाम्रा विद्यार्थीहरूलाई अथवा हाम्रा युवाहरूलाई एउटा गति प्रदान गर्ने गर्दछ। खेल र खेलाडीलाई गुणसवारका घोडा भन्ने गरिन्छ। खेलको कुरा गर्दा स्वाभाविक रूपमा सबै खेलाडीहरू, प्रशिक्षकहरू, राजनीतिक नेताहरू, समाजसेवीहरूको आधारभूत ज्ञानको बुझाइ के हुन्छ भने पहिलो हुने खेलाडीले मेडल प्राप्त गर्ने गर्दछ। यो सार्वभौम नियम हो। तपाईंहरूले खेल्ने खेलमा जो पहिलो हुन्छ, त्यो विजेता हुन्छ र त्यसले मेडल प्राप्त गर्छ । र, जसले सबै खेल जित्यो त्यसले शिल्ड प्राप्त गर्ने गर्छ। तर राजनीतिमा त्यस्तो नहुँदो रहेछ। कहिलेकाहीं तेस्रोले पनि मेडल प्राप्त गर्दोरहेछ। आज नेपालको राजनीति यसरी नै गुज्रेको छ। तेस्रो हुनेले जित्दो रहेछ। मेडल प्राप्त गर्दोरहेछ। राजनीति र खेलमा यही भिन्नता हुन्छ। धेरै कुराहरू राजनीति र खेलमा मिल्न आउँछ। खेल भन्ने बित्तिकै यसको एउटा अनुशासन हुन्छ, यसको नियम हुन्छ। खेलमा प्रतिस्पर्धा हुन्छ। एकले अर्कालाई हराउने कोसिस गरिन्छ र त्यो नै खेल हो। एउटाले जित्छ, अर्कोले हार्छ। र, फेरि के हुन्छ भने जित्नको लागि हार्ने खेलाडीले अर्को तयारी गर्छ।
खेल भन्ने बित्तिकै अनुशासित र सिर्जनशील नागरिक तयार गर्ने एउटा माध्यम पनि हामीले मान्न सक्छौं। खेलकुदले राष्ट्रको एकता प्रवर्द्धन गर्न तथा अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न सघाउँछ। यसरी खेलको महत्व व्यक्तिको विकासदेखि लिएर राष्ट्रको प्रतिष्ठा आर्जन गर्न पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने कुरामा दुईमत हुँदैन।
खेलकुद विकास भन्नाले वास्तवमा खेलमा ३ वटा कुराहरू अभिन्न रूपमा गाँसिएका हुन्छन्। खेलकुद, खेलाडी र खेल संस्था अभिन्न रूपमा गाँसिएका छन्। खेलकुदको लागि खेल आयोजना हुनुपर्यो। त्यसको लागि खेल्नलाई खेलाडी हुनुपर्यो र त्यस खेलकुद आयोजना गर्नको लागि संस्था हुनुपर्यो। यी तीनवटा चिज चाहिँ खेलाडीहरू र खेल संस्थाको लागि अभिन्न रूपमा गाँसिएका प्रश्न हुन्। यसको परिभाषाभित्र धेरै कुरा जोडिएका छन्। खेलकुद विकासका लागि हामी सबैले प्रयत्न गर्नुपर्छ। जसअनुसार खेलकुद भन्नाले शारीरिक तथा मानसिक प्रयास र सीपको माध्यमबाट व्यक्तिगत वा समूहगत प्रतिस्पर्धात्मक क्रियाकलापमा संलग्न रहेर अगाडि बढ्ने एउटा माध्यम खेल हुन सक्छ।
वास्तवमा नेपालमा खेलको कुरा गर्दाखेरी मैंले धेरै कुरा चाहिँ नभनौं; खेलको इतिहास त्यति लामो छैन। हामीले परापूर्वकालदेखि हेर्दै आउने हो भने हाम्रो मानव विकासको एउटा सभ्यतासँगै हेर्दा विभिन्न खेलहरू कुस्ती, दौड लगायत विभिन्न प्रकारका माध्यमबाट समाजमा विविध कार्यकलाप भएता पनि यसलाई संगठित रूपमा अगाडि बढाउनका लागि गरिएको प्रयास हामीले कमै मात्रामा पाउने गर्दछौं। राणाकालीन स्थितिमा राणा शासकहरूको मनोरञ्जनको निम्ति मान्छेहरूलाई कुस्ती खेलाएर-लडाएर, विभिन्न रंगमञ्चमा नर्तकीहरू नचाएर आनन्द लिन मात्र नभई अन्य मनोरञ्जनको निम्ति त्यस्ता आयोजनाहरू गरिन्थे। तर खेलकुदकै लागि भनेर उल्लेख्य मात्रामा ठूल्ठूला आयोजनाहरू गरिएनन्। यति गर्दागर्दै पनि राणा शासनको अन्त्य हुँदै गर्दाखेरी राणा शासकरूले विभिन्न देश-विदेशका भ्रमण गर्दा, अध्ययन गर्दैगर्दा ती देशका अध्ययनहरूबाट सिकेको सीपबाट नेपालमा दशरथ रंगशालाको स्थापना गर्नु आफैंमा नेपाली खेलजगत्मा एउटा कोसेढुंगाको रूपमा हामीले लिन सक्छौं। र पनि राणा शासनकालमा खेलकुदको विकास हुन सकेन। २०१५ सालमा त तत्कालीन शिक्षामन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्य खेलकुद परिषद्को स्थापना भएको थियो। त्यसले पनि खासै गति लिन सकेन। १५ सालमा स्थापना भएको राष्ट्रिय स्वास्थ्य खेलकुद परिषद् पछि गएर विधिवत् रूपमा २०१७ साल फागुन १७ गते राष्ट्रिय खेलकुद परिषद्को रूपमा रूपान्तरण भई स्थापना भयो। त्यसपछि बल्ल नेपालमा संस्थागत रूपमा खेलकुद विकास हुँदै आएको हो। राष्ट्रिय खेलकुदको सुरुवात भईआएपश्चात् पनि यसले नयाँ गति लिन सकेन। २०३८ सालमा स्थापना भई सम्पन्न भएको खेलकुद आयोजनाले प्रत्येक दुई वर्षको अन्तरालमा प्रतियोगिता गर्ने निर्णय गर्यो। त्यसले पनि फेरि निरन्तरता दिन सकेन। देशमा भएको राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्व यी विविध कारणले गर्दाखेरी प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गरिने खेलकुद आयोजनाले गति लिन सकेन। यसरी फेरि पनि खेलकुदको विकास हुन सकेन।
अहिले आएर गणतन्त्रात्मक व्यवस्था आइसकेपछि खेलकुद विकासका लागि भन्दै २०७७ सालमा नेपाल सरकारले विभिन्न महत्वपूर्ण नीतिहरू जारी गर्यो। प्रदेश खेलकुद विकास ऐन २०७६ को रूपमा लुम्बिनी प्रदेश सरकारले पनि एउटा विधेयक/ऐन बनाएर खेलकुद ऐनको रूपमा जारी गरेको छ। खेलकुदका सन्दर्भमा लुम्बिनी प्रदेशले केही गति पनि प्रदान गरेको छ। यति हुँदाहुँदै पनि खेलले खासै विकास लिन नसकिरहेको कुरा हामी सबैमा विदितै छ। नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद् आज छ। परिषद्सँग विभिन्न खेल संस्थाहरू सम्बद्ध छन्, आबद्ध छन्। झण्डै २ सयको हाराहारीमा विभिन्न क्लबहरू, संघसंस्थाहरू राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध हुनु पनि वास्तवमा नेपालको खेल विकासको लागि एउटा महत्वपूर्ण पाइला हो भन्न सकिन्छ। यी र यस्ता थुप्रै अवसरहरू हामीमाझ छन्।
खेलाडी भाइबहिनीहरू,
हामीले पनि स्कुलमा पढ्ने बेला होस् या खेल्ने बेला हाम्रा बुबाआमा तथा दाइदिदीले भन्दै आएको दुखेसो के हो भने– ‘यो खेल्या छ खेल्या छ। काम पनि नगर्ने। खेल्या छ खेल्या छ।’ खेल्ने भनेको निकम्मा हो। काममा चोर हो। यसले पढ्नतिर ध्यान नदिनु हो। खेल्ने भनेको नै नराम्रो काम हो। खेल्नु हुँदैन भनेर हामीले सिकाउँदै आएको पनि त्यही हो। अहिले पनि सायद तपाईं अभिभावकहरूले त्यही नै भन्नुभएको होला र भन्नुहुन्छ पनि। यति हुँदाँदै पनि वास्तवमा खेल भनेको महत्वपूर्ण चिज हो। हाम्रो स्वस्थ जीवनसँग गाँसिएको सवाल हो। राष्ट्रको उन्नतिसँग गाँसिएको प्रश्न हो। त्यसैले यसका सम्भावनाहरू धेरै छन्। हरेक विद्यार्थी भाइबहिनीहरूलाई के चाहिँ आग्रह भनौं या अनुरोध गर्दछु भने खेल कसरी खेलिराख्नुभएको छ ? एउटा मनोरञ्जनको लागि खेलिराख्नुभएको छ कि एउटा स्वस्थ जीवनको लागि खेलिराख्नुभएको छ ? विद्यालय पढ्दाखेरी सर/म्याडमहरूले प्रतियोगिता छ भन्दै तिमीहरू जानैपर्छ भनेर करले तपाईंहरू खेल्न आउनुभएको छ कि अथवा कुनै साथीको लहैलहैमा तपाईं खेलिराख्नुभएको छ कि कसरी खेलिराख्नुभएको छ, त्यो महत्वपूर्ण कुरा हो। तर खेल तपाईंले खेल्ने बेलामा आज समाजमा रहेका सबै विधा पत्रकारिता, कानून, प्राविधिक विषयहरू अथवा जुनसुकै विषयहरूमा तपाईंहरू दत्तचित्त भएर आफूलाई दक्ष बनाउन सक्नुस्। त्यसले तपाईंमा रहेको सम्भावनालाई चुम्न सक्छ।
खेल जगत्बाट पनि राष्ट्रका धेरै महत्वपूर्ण व्यक्तित्वहरू जन्मिने गरेका छन्। उनीहरूको जीवन अहिले सम्पन्न भएको छ। त्यसैले खेल भन्दै गर्दा वास्तवमा आज व्यावसायिकतातर्फ लम्किँदै गएको छ। खेलाडीहरू खेलकुदबाट पनि जीवनको भविष्य निर्माण हुन्छ भन्ने सपना देख्न थालेका छन्। खेलकुदमा व्यावसायिकताको वृद्धिसँगै विभिन्न संघ-संस्थाहरू, क्लबहरू र उद्यमी, बहुराष्ट्रिय कम्पनीहरूले प्रायोजन गरेर खेलकुद आयोजना गरिरहेको कुरा हामीले सुनिराखेका छौं, देखिराखेका छौं। र, गरी पनि राखेका छौं। विभिन्न उत्कृष्ट खेलाडीहरूलाई विभिन्न उद्योग तथा निजी क्षेत्रका कलकारखानाहरूले एउटा ब्राण्ड एम्बेसेडर (सद्भावना दूत) को रूपमा प्रयोग गरेर कमाउने माध्यमको रूपमा पनि खेलाइरहेको हामीले देखिराखेका छौं। खेलक्षेत्रमा एउटा उत्कृष्ट प्रदर्शनका कारण विभिन्न खेलाडीहरूले सोही अनुसारको उत्कृष्ट जीवनयापन गरिरहेका छन्। तपाईंहरुले आज नेपालका उत्कृष्ट खेलाडीहरू, क्रिकेटरहरू, फुटबलरहरू, रेस्लरहरू, म्याराथन धावकहरूको जीवनस्तर देख्नुहुन्छ भने उनीहरूको दैनिकी निकै हाइफाइ छ। उनीहरू आलीसान कारहरू चढेका छन्। आलीसान महलहरूमा बसेका छन्। वर्षमा, महिनामा, अनेकपल्ट देश-विदेशका भ्रमण गरेका छन्। आफ्नो परिवारलाई एकप्रकारको उच्च जीवनयापन गर्ने माध्यमको रूपमा खेलकुदको विकास गरेका छन्। त्यसैले म खेलाडी भाइबहिनीहरुलाई के आग्रह गर्दछु भने तपाईंहरू आफ्नो खेलमा दत्तचित्त भएर अगाडि बढ्नुस्। खेल चाहिँ व्यावसायिकतातर्फ अगाडि बढ्ने दिशा पक्रिराखेको छ। त्यो दिशातर्फ तपाईंहरु जानुभो भने मलाई लाग्छ, तपाईंको उज्ज्वल भविष्यको सपना यही खेलबाट पनि हुन्छ।
आज यो खलको प्रसंग भएको हुनाले म यत्ति कुरा तपाईंहरुसँग राखेँ। खेलका सम्भावनाहरू यत्ति हुँदाहुँदै पनि यसका थुप्रै चुनौतिहरू छन्। खेल जतिसुकै व्यावसायिक बन्दै गएता पनि खेल भनेको वास्तवमा फुर्सदको बेलामा गर्ने हो भन्ने एकप्रकारको मानसिकता आज समाजमा व्याप्त छ। प्रतियोगिता चाहिँ हुँदैन। वर्षमा एकपटक अथवा १२ महिनामा जम्मा एक महिनामा कुनै खेलको आयोजना हुन्छ र त्यो पनि एउटा औपचारिकतामा सीमित भएर त्यसको आयोजना गरिन्छ। जुन दिन त्यो खेलको सुरुवात हुने गर्छ त्यसै दिनमा विद्यार्थीहरूलाई बोलाएर वा कतैबाट फकाएर केही गरेर ‘खेल केटा हो, केटी हो’ भनेर प्रतियोगितामा सहभागी बनाउने परम्परा छ। यसले खेलकुदको विकास लिन सक्तैन। यो त भयो पहिलो कुरा। अनि दोश्रो कुरा खेलक्षेत्रमा विभिन्न चुनौतिहरू छन्। यसमा खेलको नेतृत्व निर्माण गर्ने सन्दर्भमा प्रतियोगितात्मक रूपमा खेलाडीहरूको विकास हुन सकिराखेको छैन। जसको परिणाम खेल खेल्ने खेलाडीहरूमा एकप्रकारको नैराश्यता मात्र होइन एउटा वैकल्पिक बाटो रोज्नुपर्ने बाध्यता आज खेलाडीहरूमा भइराखेको छ। तपाईं हामीले देख्ने गरेका छौं। विभिन्न जिल्लाहरूका शिल्डहरूमा उत्कृष्टता हासिल गरेका हाम्रा भाइबहिनीहरूले चाहिँ पढाइ पनि पूरा गर्न सक्नुभएन। खेलमा जाने बेला पढाइ पनि बिग्रियो। अरु रोजगारका माध्यमहरू पनि छैनन्। आज खाडी मुलुकमा थुप्रै खेलाडी भाइबहिनीहरू गएको पनि हामीले देखेका छौं। यसको परिणामको प्रमुख कारण के हो भने हामीमा अर्थात् राज्यस्तरमा खेलसम्बन्धी स्पष्ट नीति नहुनुको कारणले हो। यसको साथसाथै प्रत्येक वर्ष अर्थात् प्रत्येक पटक सरकारमा हुने अस्थिरता, राजनीतिक तरलताका कारणले गर्दाखेरी जतिवटा सरकार फेरिन्छ त्यतिवटा चाहिँ त्यस खेलक्षेत्रको नेतृत्व पनि फेरिँदै जाने गर्छ। खेलजगत्को नेतृत्व फेरिँदै जाने क्रममा दक्ष व्यक्तिहरू, अनुभवी व्यक्तिहरूलाई त्यसमा छनौट गर्नेभन्दा पनि राजनीतिक आस्थाको आधारमा छनौट गर्ने, आफन्तजनलाई छनौट गर्ने, आफ्नो क्षेत्रको मान्छेलाई छनौट गर्ने प्रवृत्तिले पनि खेलकुद विकासको नेतृत्वमा गति प्रदान हुन सकिराखेको छैन।
अहिले प्रदेश खेलकुद ऐन बनेको छ। संघमा पनि खेलकुद ऐन २०७७ जारी भएको छ। संघीयताको कार्यान्वयन सँगसँगै हाम्रो संविधानले स्थानीय तह तथा प्रदेशलाई प्रशस्त अधिकार दिएको छ। हिजो एकात्मक राज्य प्रणालीको बेलामा हामी जिल्लास्तरमा हुने वीरेन्द्र शिल्डमा सहभागी भएको अनुभव छ। आज संघीयताको कार्यान्वयन भइसकेपछि त्यसको कार्यान्वयन प्रक्रियामा हाम्रै घर आँगनको स्थानीय तहले राष्ट्रपति रनिङ शिल्डको आयोजना गरेर जिल्लास्तरको आयोजना गरिराखेको कुरा तपाईंहरू सबैलाई विदित छ। यस्तो अवस्थामा हामी हरेक तहको सरकार अथवा प्रदेश सरकार र संघीय सरकारले खेल र खेलाडीहरूको वृत्ति विकासका लागि एउटा विशिष्ट योजना बनाउन सक्यो भने खेलाडीहरूको भविष्य उज्ज्वल हुन्छ भन्ने कुरामा कुनै दुईमत छैन।
मैले भर्खरै सुनेँ- कार्यक्रमको अध्यक्षज्यूबाट। त्यो के भने, प्रदेश सरकारले जिल्लास्तरीय खेलकुद कार्यक्रमको लागि भनेर जम्मा ३ लाख रुपैयाँ छुट्याएको छ। खेलकुदको आयोजना गर्ने, खेलाडी छनौट गर्ने, छनौटका लागि प्रशिक्षकहरू पठाउने जस्ता काममा ३ लाखले केको छनौट हुन्छ। योले केको उत्कृष्टताको हामीले कल्पना गर्न सक्छौं। यसैले प्रत्येक तहको सरकारले, पालिकाले, हामीले के गर्न जरुरी छ भने यसको लागि उचित बजेटको व्यवस्था गर्न जरुरी छ। लुम्बिनी प्रदेशसभाका माननीय सदस्यहरूलाई आगामी दिनमा प्रदेशसभामा गरिने नीतिनिर्माणको क्रममा यहाँहरूको ध्यानाकर्षण गराउँदछु। यसको साथसाथै हामीले खेल विकासलाई अगाडि बढाउने सन्दर्भमा लुम्बिनी प्रदेशको १२ वटा जिल्लामा प्रत्येक जिल्लाले एक महिनामा एउटा कार्यक्रम मात्रै गर्ने हो भने १२ महिना नै यस्ता खेल उत्सवको आयोजना गर्न सकिन्छ। १२ महिना नै खेलको आयोजना गर्दा १२ महिनामा १२ वटै जिल्लाका खेलाडीले भाग लिई प्रतिस्पर्धा भयो भने खेलाडीहरूको स्तर के कति जाला र कहाँ पुग्ला। हामीले त्यसको परिकल्पना गरौं। १२ वटा जिल्लामा प्रत्येक जिल्लाले एकएक महिनाको रोटेसनमा खेलको आयोजना गर्ने हो भने लुम्बिनी प्रदेशमा १२ महिना नै खेलाडीहरू सहभागी बनाउने सम्भावना छ। त्यो प्रदेश सरकारले लागू गर्नुपर्यो। जिल्ला र स्थानीय सरकारले त्यस खालको बजेटको विनियोजन गर्नुपर्यो। त्यसो गर्न सक्यौं भने मलाई लाग्छ, खेलको चाहिँ विकास हुन सक्छ।
म अन्त्यमा फेरि पनि खेलाडी साथीहरूलाई शुभकामना व्यक्त गर्दछु। खेलमा एकप्रकारको अनुशासन भएसँगै यसले विजय र पराजयका बाबजुद विजय हुनेहरू सँगैसँगै पराजय भोग्नेले पनि त्यस्तै प्रकारको मिहेनत गर्छ। ठीक त्यसैगरी सामाजिक विज्ञान, राजनीतिक विज्ञानका दृष्टिले समाजमा चल्ने राजनीतिक द्वन्द्वमा पनि एउटाले जित्छ, एउटाले हार्छ। राजनीतिक समीकरण फेरिँदै जान्छ। कहीँ नभएको जे हुन्छ नेपालमै हुन्छ भने जस्तै गरी नेपालमा राजनीतिक छलफलहरू अहिले तरंगित बन्ने गरेको छ। आसन्न राष्ट्रपतिको निर्वाचनसम्म आउने बेलामा हामीले प्रतिनिधिसभामा शपथग्रहण गरेको ६९ औं दिनसम्म धेरै कदमहरू पैदा भएको छ। प्रधानमन्त्रीको अथवा सरकारको विश्वासको मत लिने काम सम्पन्न गर्यौं। सभामुख र उपसभामुखको चुनाव सम्पनन गर्यौं। अधुरो रहेको वृहत् शान्ति सम्झौताको एउटा महत्वपूर्ण पाटो बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरूपन तथा मेलमिलाप आयोगको समयावधि बढाउने निर्णय गर्यौं। प्रतिनिधिसभाको सभा सञ्चालनसम्बन्धी नियमावली संशोधनको मस्यौदा समिति गठन गर्यौं। सभा सञ्चालक समितिको चयन गर्ने काम गर्यौं। यसका अतिरिक्त सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई सदनमा पेश गर्यौं।
उपस्थित जनसमुदाय,
म ५ वर्ष लुम्बिनी प्रदेशसभाको नेतृत्व गरेको एउटा सदस्य प्रतिनिधिसभामा पहिलोपटक निर्वाचित हुने बेलामा धेरै दिग्गज, धेरै पुराना, धेरै खारिएका, नेताहरू, माननीय सदस्यहरू र भर्खरैभर्खरै प्रतिनिधिसभामा प्रवेश गरेका माननीय सदस्यहरूको अनुहार हेर्ने मौका पाएँ। उहाँहरूका प्रस्तुति हेर्ने मौका पाएँ। व्यंग्यात्मक, कलात्मक, भावात्मक, छन्दात्मक सबै अभिव्यक्तिहरू प्रतिनिधिसभामा व्यक्त भएका छन्। एक-अर्काका कटाक्ष, एक-अर्काका आक्रोश, एक-अर्काका कुण्ठा यी सबै कुराहरू प्रतिनिधिसभामा व्यक्त भएका छन्।
प्रतिनिधिसभा सिंगो राष्ट्रको एउटा विचार निर्माण गर्ने, सिंगो राष्ट्रको नीति निर्माण गर्ने एउटा सम्मानित थलो भएको हुनाले स्वाभाविक रूपमा राष्ट्रको नेतृत्व गर्ने नेताहरूका विचारहरू र भावनाहरू व्यक्त भएका छन्। सदन चलिरहँदा प्रतिनिधिसभा हलमा प्रत्यक्ष प्रसारण व्यवस्था भएको हुनाले तपाईंहरूले पनि बेलाबेलामा देखिराख्नुभएको होला, सुनिराख्नुभएको होला। तपाईंहरूको पृष्ठपोषण, सल्लाह र सुझावहरू मलाई दिनुहुने छ र मैंले पनि जिल्लाको लागि के गर्ने भन्ने बारेमा तपाईंहरूका रायहरू संकलन गरेर आगामी दिनमा ती कुराहरूलाई प्रतिनिधिसभामा उठाउने प्रतिबद्धता व्यक्त गर्दछु।
तपाईं सम्पूर्ण खेलाडी भाइबहिनीहरूको खेलकौशलको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ यहीं टुङ्ग्याउँदछु। धन्यवाद !
(२०७९ फागुन १४-१७ मा रुकुमपूर्व जिल्लाको तकसेरामा आयोजित चौथो जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा आमन्त्रित प्रतिनिधिसभा सदस्य घर्तीद्वारा प्रस्तुत सार्वजनिक मन्तव्य।)
प्रतिक्रिया