बहरलाई कारवाही !
दायाँ बनाउने हो भने जाँतो पिसाइको दिशातिर तथा बायाँ बनाउने हो भने घडी घुम्ने सुइको दिशातर्फ !
रुकुमपूर्व जिल्लाको उत्तरपूर्वी भेगका बस्तीमा गोरुलाई दिइने अभ्यास अचम्मको छ। सामान्यतया ४ वर्ष कटिसकेको बहर जोत्ने तयारीका लागि योग्य मानिन्छ। जोताइको क्रममा बहरलाई जुवामा नारेर फुक्का जमिनमा हलो जोतिन्छ।
सुरुवातको यो घडीमा बहरको मालिकले ठूलो धैर्य अपनाउनुपर्छ। फुर्क्याइ–फुर्क्याइ जोत्नुपर्छ। यसरी पनि नजोतेपछि उक्त बहर सजायको भागीदार बन्नुपर्छ। यसलाई एकप्रकारले आफ्नो कर्तव्य निर्वाह नगरेपछि त्यसको सजायस्वरुप कारवाही गरेको मान्नुपर्छ।
तयारी अवस्थाको एउटा बलियो काठको खाँबो जमिनमा बलियै गरी घोपिन्छ। जसलाई स्थानीय मगर खाम भाषामा ‘मुर्ला’ भनिन्छ। मुर्लाको शिरमा अर्को एक बलियो काठ (नल) जमिन छुने गरी तेर्स्याइन्छ। जसलाई ‘मैदान’ भनिन्छ। मैदानले जुवाको काम गर्छ। मैदानमा अब बहरलाई नारिन्छ।
दायाँ वा बायाँ कुन छेउबाट गोरुलाई जोत्नलाई बानी पार्ने हो सोही अनुसार झण्डैझण्डै दाइँ गर्ने शैलीमा गोरुलाई घुमाइन्छ। त्यही दिशामा बहर अभ्यस्त बन्छ। गोरुलाई दायाँ वा बायाँ कतातिर पाको पार्ने त्यो मालिकको आवश्यकता हेरी यसै मौकामा निर्क्यौल गर्नुपर्छ। दायाँ बनाउने हो भने जाँतो पिसाइको दिशातिर तथा बायाँ बनाउने हो भने घडी घुम्ने सुइको दिशातर्फ !
कम्तिमा पनि दुई दिन दुई रात भोकप्यास ब्यहोर्ने गरी बहर कारवाहीको फन्दामा पर्छ। बडो कन्जुस्याइँ गरी घाँसपानी दिइन्छ। यस अवधिमा गोरु मालिकका स–साना छोराछोरी लगायत छिमेकका भुराभुरी सोही बहरलाई घुमाउनमा व्यस्त रहन्छन्।
स्थानीय चलनचल्तीको मगर खाम भाषामा ‘मैजाकुम’ भनिने यस परम्परागत काष्ठ प्रविधिले गोरुलाई तहमा ल्याउन काइदाको भूमिका खेलेको स्थानीय बासिन्दा बताउँछन्। मैजाकुममा गलिसकेको गोरुले कम्तिको पनि दुई दिनपछि जोत्न सुरु गर्छ भने कुनैले हप्ता दिनसम्म पनि सास्ती व्यहोर्नुपर्छ। आखिर नजोती सुखै छैन।
एकप्रकारले यो विधि पुर्सो बाच्छो भएर जन्म लिएपछि ४ देखि ५ वर्षको उमेरमा आइलाग्ने जीवनमरनको दोसाँध हो। चैत–वैशाख मैजाकुम खडा गर्ने सिजन हो।
प्रतिक्रिया