'आमा' शब्दको भाषावैज्ञानिक विश्लेषण

'आमा’ शब्द तामाङ भाषा र परम्पराको सम्पदा हो।

'आमा' शब्दको भाषावैज्ञानिक विश्लेषण आफ्‍नो शिशुलाई नुहाउँदै एक आमा।

६/७ वर्ष अघि अर्थात् २०४३/४४ सालतिरको कुरा हो। साथीहरुबीच भाषा विषयको कुरा चलिरहेको थियो। कुराकै सिलसिलामा एउटा नेपालीभाषी मित्रले सोध्यो– "तामाङ भाषामा ’आमा’ लाई के भनिन्छ ?"

'आमा’ भनेर सहज उत्तर दिएँ। मित्रले प्रष्ट पार्‍यो– "त्यो त नेपाली भाषाको शब्द हो।" साँच्चै, तामाङ भाषामा आमाको समानार्थी शब्द के होला ?  त्यसै दिनदेखि यस शब्दबारे सोच्न थालेँ। धेरै तामाङ भाषीहरुसँग सम्पर्क गरेँ। उत्तर उही आउँथ्यो। यसै बीचमा मैले आमाको बेग्लाबेग्लै शब्द (word coined) बनाउन नखोजेको पनि होइन।

केही कालपछि तामाङ भाषा र भाषाविज्ञानको अध्ययनतिर मेरो चासो बढ्दै गयो। अध्ययनको क्रममा मैले 'आमा’ शब्दको दसी फाटफुट पाउन थालेँ। यसपछि म मेरा मित्रलाई जवाफ दिन सक्ने भएँ। हालै मित्र रविन्द्रसिंह लामाले यसै बारेमा 'ल्हासो' पत्रिकामा लेख्न अनुरोध गरेपछि म लेख्न तयार भएँ।  

भाषाको परिवार हुन्छ। नेपालमा ४ परिवारका लगभग १ सय ४३ भाषा बोलिन्छन्। नेपाली भाषा भारोपेली भाषा परिवारभित्र पर्दछ। नेपाली भाषाबाहेक यस परिवारका अन्य भाषीले आमाका लागि 'आमा’ शब्द प्रयोग गर्दैनन्।  जस्तै, संस्कृतमा 'माता’ (जननी, प्रसू) हिन्दी, गुजराती र बङ्गालीमा 'मा’, भोजपुरीमा ’माइ’, मैथिलीमा ’माय’, अङ्ग्रेजीमा 'मदर’, ल्याटिनमा 'मतेर’ हुन्छ। नेपाली भाषाकै पश्चिमेली भाषिकाका वक्ताले ’इजा’, केन्द्रीय भाषिकाका वक्ताले ’जिमा’ भन्दछन्। 

यी भारोपेली परिवारका भाषाहरुमा 'आमा’ शब्द पाइँदैन। नातागोताका शब्दहरु 'आ’ बाट सुरु हुँदैनन्। यसबाट 'आमा’ शब्द भारोपेली भाषा परिवारको सम्पदा होइन भन्ने प्रष्ट हुन्छ। नेपाली भाषा पनि यसै परिवारको सदस्य भएको नाताले यो शब्द नेपाली भाषाको पनि बपौती वा सम्पदा होइन रहेछ भनेर निष्कर्ष निकाल्न सकिन्छ।

नेपालमा बोलिने अर्को महत्वपूर्ण परिवार भोट–बर्मेली भाषा परिवार हो। यस परिवारका भाषाहरु– तामाङ, गुरुङ, चेपाङ, दनुवार, जिरेल, थकाली, खाम, छन्त्याल, तिब्बती आदिमा 'आमा’ शब्द नै प्रयोग हुन्छ (लेप्चामा ’आमु’, सुनुवारमा ’अमा’ र शेर्पामा 'ममा’ हुन्छ)। यी माथिका उदाहरणबाट 'आमा’ शब्द भोट–बर्मेली परिवारको सम्पत्ति रहेछ भन्ने देखिन्छ।

यो शब्द मूलतः भोट–बर्मेली परिवारका हिमाली शाखाका भाषाहरुमा व्यापक प्रयोग हुन्छ। अब यो शब्द कुन भाषा विशेषको होला भन्ने प्रश्न उठ्न सक्दछ। यसबारे पनि निर्क्यौल हुन आवश्यक ठान्दछु। ’आमा’ शब्द भोट–बर्मेली भाषा परिवारका साझा सम्पत्ति देखिएता पनि हालको प्रयोगलाई हेर्दा यो तामाङ भाषाको शब्द हुन सक्ने मेरो ठहर छ। भोट–बर्मेली भाषा परिवारमा तामाङ भाषाको विशेष महत्व छ। एक प्रचलित धारणा अनुसार तामाङ भाषा तिब्बती भाषाको पनि प्राक् रुप (proto-form)  हो भन्ने अड्कल गरिएको छ।

सामाजिक सन्दर्भमा आफूलाई जन्म दिने नारीलाई 'आमा’ भनिन्छ। यो शब्द तामाङ भाषाको सम्पत्ति हो भनेर दावी गर्नुभन्दा अगाडि तामाङ साइनो शब्दहरुलाई केलाउन आवश्यक छ। यस भाषामा साइनो शब्द प्रायः ’आ’ बाट सुरु हुन्छ। जस्तै– आखे  (बाजे), आपा  (बुबा), आमा  (आमा), आपाग्रेन/आपेन  (ठूलाबा), आमाग्रेन/आमेन  (ठूली आमा), आगु  (काका),    आरु/आसु  (काकी, सानीआमा, सौतेनी आमा), आस्याङ  (मामा), आङि  (फुपू, माइज्यू), आज्यो/ज्योज्यो  (दाज्यु), आना/नाना  (दिदी), आले  (भाइ) र आङा  (बहिनी)। 

'आ’ बाट सुरु भएको यत्ति धेरै साइनो शब्द अन्य कुनै भाषामा सायदै पाइँदो हो। संस्कृत भाषामा 'आ' बाट सुरु भएको नातासम्बन्धी शब्द जम्मा ३ ओटा मात्र रहेछ– आबुत (भिनाज्यु), आम्बा (माता) र आबुक (पिता)। नेपालीमा 'आ’ बाट सुरु हुने नाता शब्द आमा र आमाज्यु मात्र हुन्। यी पनि तामाङ भाषा परम्पराको देन हो भन्ने कुरा यो लेख टुङ्गिंदासम्ममा प्रष्ट हुनेछ। तिब्बती र अन्य हिमाली भाषामा पनि नजिकको नाता बुझाउने 'आ’ अक्षरबाट सुरु हुने यत्ति धेरै शब्द छैनन्।

अझ गहरिएर हेर्दा 'आमा’ शब्दको पहिलो अक्षर (syllable) 'आ’ ले तामाङ समाजमा निकट रक्तसम्बन्धको सङ्केत गर्दछ। निकट रक्तसम्बन्ध (closed blood relation) नहुने तामाङ साइनो शब्दहरु ’म्हा’ (भेना-जुवाइँ), 'चाङ’ (भाउज्यू-बुहारी) शब्दमा 'आ’ अक्षरको अनुपस्थितिले यसको पुष्टि गर्दछ।

माथि भनिसकिएको छ– तामाङ भाषा भोट-बर्मेली परिवारको भाषा हो। यस परिवारको भाषा एक अक्षरीय (mono-syllabic) हुन्छ, अर्थात् प्रत्येक अक्षरले अर्थ बोकेको हुन्छ। यसर्थ 'आमा’ शब्दमा रहेको दोस्रो वा अन्तिम अक्षर ’मा’ ले दिने अर्थलाई पनि यहाँ विश्लेषण गर्न आवश्यक छ- माम  (बज्यै), आमा  (आमा), माःमा  (माउ), योमा  (पोथी), स्युमि  (सासु), निमु  (नन्द), जामे  (छोरी), छामे  (युवती), कोन्मे (भान्जी), दामो  (नानी), ज्योमो  (सुन्दरी, देवी), ल्हामो  (देवी), माइ  (नानी) र म्रिङ  (स्वास्नी)।

 माथि प्रस्तुत शब्दहरुको अन्तमा 'म्, मा, मि, मु, मे, मो'  आएको छ। यी अक्षरले नारी जातिको सङ्केत गरेको छ अर्थात् यी स्त्रीलिङ्गी सर्ग हुन्। ’माइ’ र ’म्रिङ’ शब्दमा उपस्थित ’म’ अक्षरले पनि नारीलाई नै सङ्केत गरेको छ।

माथिका विश्लेषणबाट ’आमा’ शब्दमा उपस्थित पहिलो अक्षर ’आ’ ले अति नजिकको नाताको बोध गराउँछ भने अन्तिम अक्षर ’मा’ ले नारी जनाउँदछ। यसर्थ ’आमा’ शब्दको अर्थ ’अति नजिकको नाताकी नारी’’ भन्ने हुन्छ। सामाजिक रुपमा आमा प्रत्येक व्यक्तिको अति नजिकको वा पहिलो नाता पनि हो, अर्थात् आमा पहिलो यथार्थ हो। यसरी भाषावैज्ञानिक दृष्टिकोणबाट 'आमा’ शब्दले रक्तसम्बन्ध देखाउँछ भने तामाङ समाजमा आमाको पारिवारिक, सामाजिक तथा सांस्कृतिक महत्व पनि अद्वितीय छ। 'आमाइले होइ आमाइले’ जस्ता आमा वन्दनाबाट तामाङ सांस्कृतिक गीतहरु सुरु गरिने परम्पराको बारेमा सन्तवीर लामाले ताम्बा काइतेन व्हाइ रिमठिम  (१९५७) मा लेखिसकेका छन् र यो परम्परा अझै जीवितै छ। तामाङ समाजमा नारीले ओगटेको स्थान र सम्मान अति विशिष्ट रहेको तथ्य सर्वविवितै छ।

यसर्थ नेपाली समाजमा प्रयोग गरिने ’आमा’ शब्द भोट–बर्मेली परिवार अनि तामाङ भाषा र परम्पराको सम्पदा हो भनेर ठोकुवा गर्न सकिन्छ। यदि कसैले संस्कृत भाषाको ’अम्बा’ वा ’माता’ शब्दबाट आमा शब्दको विकास भएको भन्दछन् भने उसको बौद्धिकता कतातिर पो टाट पल्टिन लागेछ भनेर बुझ्नु पनि पर्दछ।

तामाङ शब्दबाट ’आमा’ शब्द मात्र होइन, सम्मान देखाउन नेपाली समाजमा ’मुमा’ शब्द तामाङ भाषाको ’माम’ बाट बनेको हो। यस्तै ’ज्योज्यो’ बाट ’दाज्यु’ र ’ज्यु’ शब्द विकास भएको अड्कल राधावल्लभ उपाध्याय (२०४३) ले गरेका छन्। यसरी नेपाली भाषाका थुप्रै साइनो शब्दहरु तामाङ भाषाबाट नेपालीले लिएका छन्। तर नेपाली विद्वानहरुमा जहिले पनि दक्षिणतिर मात्र फर्केर हेर्ने संस्कारले गर्दा नेपालको इतिहास, भाषाविज्ञान वा समाजशास्त्र सबै दिग्भ्रमित भएका छन् भन्नेहरु पनि छन्। आफ्नै देशको हावापानीमा जन्मिएका वा मौलिएका नेपाली इतिहास तथा सांस्कृतिक परम्पराहरुलाई आफ्नै नेपाली आँखाबाट हेर्न सके यसको सङ्लो रुप देख्न सकिन्छ। यसतर्फ ध्यान दिनहुन सबै विद्वानवर्गमा हार्दिक अनुरोध गर्दछु।

 

सन्दर्भग्रन्थ  

लामा, सन्तवीर (इ. १९५७) ताम्बा काइतेन व्हाइ रिमठिम,  काठमाडौंः रत्न पुस्तक भण्डार (२०६१ पन्घ्रौ संस्करण) ।

उपाध्याय, राधावल्लभ (२०४३) समाज भाषाविज्ञान, पोखराः अम्बिका सापकोटा । 

 

(भाषाविज्ञान अध्येता एवं मातृभाषा तथा बहुभाषिक शिक्षाका अभियन्ता योञ्जनको २०५२ सालमा 'ल्हासो' पत्रिकामा प्रकाशित उपरोक्त आलेखलाई स्वयं लेखकले २०७० साल फागुन २६ का दिन आफ्नो फेसबुक पेजमा पोस्ट गरेका थिए।)